×

रवि लामिछानेको बयान सकियो, अदालत खुले लगत्तै पेस गरिने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरुले जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान लिएका हुन् ।

प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा पटक पटक बयान लिएको थियो । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

कार्तिक २ गते शुक्रवार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

लामिछानेलाई दिएको हिरासतमा राख्ने अनुमति बुधवार सकिएपछि आज देखि तिहारको बिदा भएकाले अब उनलाई तिहारपछि अदालत खुले लगत्तै पेस गरिने कास्की प्रहरीको तयारी रहेको छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ। कास्की प्रहरीको बयान सकिएकोले अब लामिछानेलाई म्याद थप गरेर तिहारपछि रुपन्देही लैजाने बताइएको छ। 

बिहीबार १५ कात्तिक २०८१ ०६:२८ PM मा प्रकाशित

प्रतिक्रिया