काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् । शनिबार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले राजनीतिक परिवर्तनका लागि कांग्रेस र एमालेले असाधारण योगदान गरेको बताए । प्रधानमन्त्री ओलीले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र कांग्रेसले असाधारण योगदान गरेको बताए । उनले लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भएको दाबी गरे ।
उनले भने, ‘अहिलेको सरकार नेकपा एमाले, नेपाली कांग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरूमा, योगदानका कुराहरूमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरूमा यी पार्टीहरू सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन् । यिनको प्रतिबद्धता छ । यी पार्टीले डेमोक्रेसी मर्न दिँदैनन् । डेमोक्रेसी, देश, जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था हो । मानव जातीले सामाजिक सुप्रबन्धका लागि विकास गरेका दुई वटा कुरा हुन् । सामाजिक सुप्रबन्धका लागि पहिलो विकास मानवले पोलिटिक्स गरेको हो । त्यसले मात्रै पनि चलेन, अनि त्यहाँ विकास भए पोलिटिकल पार्टीज । राष्ट्रियता एउटा हुन्छ भन्ने पार्ने पोल्टिकल पार्टीले हो । पोल्टिकल पार्टी नहुँदासम्म बन्दुकले बाँधेका जनता नेसन भइसकेका हुँदैनन् ।’
साथै उनले जलवायु वित्त, जलवायु न्यायका विषयमा अहिले नेपालले खरो रुपमा आवाज उठाइरहेको जिकिर गरे। ‘आज हामी खास गरी कोप–२९ को तयारीका सन्दर्भमा नेपालको त्यहाँ पोजिसन, हाम्रो अडान, दृष्टिकोण के हुने भन्ने विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने, ‘मैले विश्वास लिएको छु, यस सम्मेलनले यी विषयहरु उपयुक्त र पर्याप्त जवाफ निकाल्छ।’
ओलीले थपे, ‘नेपालले लगभग अन्तर्राष्ट्रिय फोरमहरुमा क्लाइमेट इस्युजमा लिड गर्ने गरेको छ। र गर्नुपर्छ लिड । सबैभन्दा बढी सरोकारवाला, सबैभन्दा बढी प्रभावित र सबैभन्दा बढी असर पार्ने र असरलाई रोक्नसक्ने भूगोल यही हो। यसै भूगोलले रोक्नुपर्छ।’
प्रधानमन्त्री ओलीले मधेस प्रदेशमा जलवायु परिवर्तनको ठूलो असर परेको महशुस गरेको बताए। जलवायु परिवर्तनकोअसर न्यूनीकरणका लागि वृक्षारोपणको अभियान सुरु गरेको र संघ सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए। जलवायु परिवर्तनका कारण महिला, बालबालिकार ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रतिक्रिया