×

नयाँ पुस्ताले परम्परा र सभ्यता र शिष्टता बिर्सिए- प्रधानमन्त्री ओली

images

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले 'समृद्ध नेपाल, सुखी नेपाली'बनाउने अभियानमा लाग्न आह्वान गरेका छन्। गौरा पर्वको अवसरमा सोमबार प्रशंसा संरक्षण समूहले काठमाडौंको टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको भावना लिएर समृद्ध राष्ट्र निर्माणमा जुट्न आह्वन गरेका हुन्।

साथै उनले नेपाली समाजलाई बिथोल्न त्यति सजिलो नभएको बताएका छन् ।  नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यसलाई बिथोल्ने र भड्काउने प्रयास सफल हुन नसक्ने बताए ।

सोमबार काठमाडौंस्थित सैनिकमञ्चमा भएको गौरा पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।

प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्विमबाट सुरु भएको गौरा पर्व नेपालको मौलिक पर्व भएको बताए । कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत सहभागी थिए ।  

प्रधानमन्त्री ओलीले भने, 'शान्तिपूर्ण सुखमय समृद्धि नेपाल बनाउने काममा योगदान गर्न राष्ट्रिय एकताको भावना अगाडि बढाउन सबै नेपाली एकतावद्ध भएर अगाडि बढौं।'

प्रधानमन्त्री ओलीले मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए। उनले संस्कृतिको जगेर्ना गर्न सकिए मात्रै भावी पुस्तालाई हस्तान्तरण गर्न सकिने बताए।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको मौलिक पर्व गौरा मानव सभ्यतासँग जोडिएको भन्दै यसलाई विश्वव्यापीरुपमा विस्तार गर्नुपर्नेमा जोड दिए। 'मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्छ। यस पर्वलाई विश्वव्यापीरुपमा फैलाउनुपर्छ। यसका जराहरू इतिहाससँग जोडिएका छन्। '

सुदूरपश्चिम नेपालको सभ्यता र संस्कृतिको केन्द्र भएको बताउँदै प्रधानमन्त्री ओलीले यसको आफ्नै गौरवपूर्ण इतिहास रहेको बताए। उनले भने,'सहिद दशरथ चन्द्रको जन्मभूमि र कर्म भूमि भएको ठाउँ हो। उहाँहरूका बाजेहरूका पालादेखि संघर्षको इतिहास छ। यसैगरी भीमदत्त पन्तको भूमि हो। यो भूमि सभ्यता र संस्कृतिको हिसाबले अत्यन्त सम्पन्न छ। यसको सम्पन्नतालाई एकताबद्ध भएर अगाडि बढाऔं ।'

उनले भने, ‘गौरा पर्व हामी हर्षोल्लासपूर्वक मनाइरहेका छौँ । यस्ता चाड पर्वहरू जसले नेपालको परिचय दिएका छन् । पहिचान दिएका छन् । नेपालको आफ्नो पन देखाएका छन् । यस्ता चाडहरूको निरन्तरता यहाँहरूले दिइरहनु पर्छ ।’

सोमबार १० भदौ २०८१ ०६:०२ PM मा प्रकाशित

प्रतिक्रिया