×

गौरा पर्व मनाउन टुँडीखेल पुगेका नेताहरूविरुद्ध युवा समूहको नाराबाजी

images

काठमाडौं : गौरा पर्व मनाउन टुँडीखेल पुगेका नेताहरूविरुद्ध नाराबाजी भएको छ। सोमबार टुँडीखेलमा नेताहरूले मन्तव्य दिने क्रममा युवाहरूको समूहले नाराबाजी गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य सुरु गरेलगत्तै उनीहरूले नाराबाजी गरेका थिए। क्रमशः पर्यटनमन्त्री बद्री पाण्डे, वनमन्त्री ऐनबहादुर शाही, एमाले नेता भीम रावलले मन्तव्य राखिरहेका बेला उनीहरूले चर्को नाराबाजी गरिरहेका थिए।

त्यलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्तव्य दिन आएका थिए। उनले सुरूमै नाराबाजी गर्नेहरूमाथि असन्तुष्टि व्यक्त गरेका थिए। गौरा पर्व मनाउँदै गर्दा कार्यक्रम नै बिथोल्न खोजेको भन्दै सभापति देउवा आक्रोशित बनेका थिए। 'कार्यक्रम बिथोल्ने, लाज छैन। यही हो नेपालको चलन? यही हो सिकेर आएको?,' सभापति देउवाले भने। उनले नाराबाजीकै बीचमा शुभकामना मन्तव्य दिएका थिए।  देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’ 


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका थिए। प्रशंसा संरक्षण समूहले आयोजना गरेको कार्यक्रममा उनले 'समृद्ध नेपाल, सुखी नेपाली'बनाउने अभियानमा लाग्न आह्वान गरेका थिए। 

‘तपाईंहरू जति कराउनुछ कराउनुस्, लाज पनि छैन। गौरा पर्वको कार्यक्रम विथोल्ने?,’ देउवाले भने, ‘यही हो नेपालको चलन? बदमासहरू।’ धेरै मानिस गौरा पर्व मनाउन र गौरा खेल्न टुँडिखेलमा आएको तर केहीले विथोल्न खोजेकोले त्यसलाई जनताले ठिक पार्ने देउवाले बताएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भने  नाराबाजी गर्ने समूहलाई नियन्त्रणमा नलिइएको जनाएको छ।

सोमबार १० भदौ २०८१ ०५:४० PM मा प्रकाशित

प्रतिक्रिया