काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७५ अंकले घटेर २५९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक प्रतिशतले बृद्धि भएको छ । आज बैंकको शेयरमूल्य ९.१८ प्रतिशत अर्थात १०९ रुपैयाँले बढेको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ९ प्रतिशत, बरुण हाइड्रोपावरको ८.९३ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ७.२१ प्रतिशत र सुपरमादी हाइड्रोपावरको ६.८४ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।
यसैगरी, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ६.०६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३५४ रूपैयाँ ७१ पैसा कायम भएको छ। बिहीबार बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ८४० रूपैयाँ १० पैसामा ६२ करोड ५२ लाख रूपैयाँको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४८ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८२ रूपैयाँ ९० पैसामा ३९ करोड २० लाख बराबरको सेयर कारोबार भएको छ।
प्रतिक्रिया