काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहितको चार दलीय समाजवादी मोर्चाले आगामी चैत १५ गते हुने विशाल जनप्रदर्शन एवं जनसभामा डेढ लाखभन्दा बढी मानिस उतार्ने बताएको छ । आज (बुधबार) बसेको मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले उक्त जनसभामा एकदेखि डेढ लाखसम्म जनता आउनसक्ने आँकलन गरिएको बताए ।
साथै, आजको बैठकले गणतन्त्रको पक्षमा रहेका सबै दललाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको पनि बताए । जुलुसलाई व्यवस्थित गर्न विभिन्न रुटहरू तय गरिएको पनि उनले जानकारी गराए । प्रकाण्डका अनुसार कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भृकुटीमण्डप, कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिबाटिका– भृकुटीमण्डप, नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप गरी तीन वटा रूट तय गरिएको बताए ।
मोर्चाको बैठकले. प्रदर्शनको विभिन्न नाराहरु पनि तय गरेको छ । ‘समाजवादी मोर्चा, नेपाल– जिन्दावाद, समाजवादी क्रान्ति–जिन्दावाद, प्रतिगामी षडयन्त्र–मुर्दावाद, गणतन्त्र नेपाल– जिन्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’ लगायतका विभिन्न १४ वटा नारा तय भएको छ ।
प्रतिक्रिया