चिकित्सकको लापरवाहीले आफन्तको मृत्यु भएको भन्दै कारबाहीको माग

    images

    पर्सा छिपहरमाई गाउँपालिका–२ चेरङमहाका फिरोज मियाँ अन्सारीको अस्पताल र चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै परिवारले कडा कारबाहीको माग गरेको छ । 
        
    मृतकका बुबा जुमन अन्सारीले यहाँ आज पत्रकार सम्मेलन गरी वीरगञ्ज हेल्थ केयर अस्पताल र शल्यक्रिया गर्ने डा आसिफ अन्सारीका कारण छोराको मृत्यु भएको भन्दै उनीहरुलाई कडा कारबाहीको माग गर्नुभएको हो । फिरोजलाई स्वास्थ्यमा समस्या आएपछि गत साउन २६ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको मृतकका बुबा अन्सारीले बताउनुभयो । 

    फिरोजलाई पत्थरी भएको भन्दै गत साउन २७ गते डा आसिफ अन्सारीको टोलीले शल्यक्रिया गर्दाको गल्ती नै छोराको मृत्युका कारण भएको अन्सारीको दाबी छ । उहाँले भन्नुभयो, “बाबुको शल्यक्रिया गरेको केही घण्टामा नै दुखाइ सुरु भयो, हामीले डाक्टरलाई भन्यौँ, उहाँले केही हुँदैन भन्नुभयो र फेरि साउन २८ गते दोस्रोपटक शल्यक्रिया गर्नुभयो ।” 
        
    उहाँले दोस्रो शल्यक्रियापछि छोरालाई भेन्टिलेटरमा राखेको र साउन २९ गते डा आसिफ अन्सारीले त्यहाँ निको नहुने भनेपछि हेलिकप्टर चार्टर्ड गरेर ललितपुरको मेडिसिटी अस्पताल ल्याएको जानकारी दिनुभयो । 

    मेडिसिटी अस्पतालमा उपचारका क्रममा फिरोजको यही भदौ ५ गते राति ८ बजे मृत्यु भएको भन्दै उहाँले सुरुको उपचारमै गल्ती भएको दाबी गर्नुभयो । शल्यक्रिया गर्ने बेलामा डाक्टरले तीन वटा नसा काटेको र पत्थरी भित्रै फुटाइदिएको मृतक फिरोजका परिवारको आरोप छ । अस्पताल सञ्चालक डा अब्दुल हैज अन्सारी र शल्यक्रिया गर्ने डा आसिफ अन्सारीलाई कानूनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाहीको मागसमेत गरिएको छ ।

    बिहीबार ९ भदौ २०७९ ०८:२९ PM मा प्रकाशित

    प्रतिक्रिया