काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाकै सहारामा रास्वपाका नेताहरु सांसद बनेको भन्दै कटाक्ष गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपाका नेताहरु भिजिट भिसाकै कारण सांसद बनेको बताउदै यस बारेमा धेरै चिन्ता गर्न आग्रह गरेका हुन् ।
प्रमुख सचेतक घिमिरेले रास्वपाका सभापति रवि लामिछानेको नाम नलिएर भिजिट भिसामा विदेश गएर उतै घरजम गरेको, उतैको नागरिकता र पासपोर्ट लिएर नेपाल आएर पार्टी खोलेर सांसद हुदै मन्त्री र उपप्रधानमन्त्री बनेको बताएका थिए ।
उनले भने- 'विदेशी पासपोर्टमा नेपाल फर्किएर मन्त्री, उपप्रधानमन्त्रीहरु बनाइसकेका छौं । यो अभ्यास चलिसकेको देशमा भिजिट भिसाको विषयमा धेरै ठूलो चिन्ता नगर्न साथीहरुलाई अग्रह गर्दछु ।' घिमिरेले भने- तपाईँहरुलाई यो ठाउँमा पुर्याउने श्रेय नै भिजिट भिसाको छ, धेरै चिन्ता किन गर्नुहुन्छ ?
गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा संसदमा विरोध गरिरहेको रास्वपाले आज पनि प्रतिनिधि सभामा आफ्नो धारणा राख्दै बैठक बहिष्कार गरेको छ ।
प्रतिक्रिया