×

सहकारी छानबिनसम्बन्धी संसदीय समितिको कार्यादेशमा सहमति हुन्छः मन्त्री गिरी

images

पर्वत, १२ जेठ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताउनुभएको छ । 

    गृहजिल्ला पर्वत आउनुभएका मन्त्री गिरीले नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको बताउँदै सत्तार र प्रतिपक्ष लचिलो भएर टुङ्गोमा पुग्नुपर्छ भन्नुभयो । उहाँले  आइतबारको संसद् बैठक अघि नै सहमति हुने र संसद्का कामकारबाही सञ्चालन हुने बताउनुभयो । बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गर्ने प्रावधानसहित सहमति गर्नुपर्नेमा सत्तापक्ष सकारात्मक रहेको उहाँले बताउनुभयो । 

    उपप्रधान तथा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रतिपक्षी दल आफ्ना अडानबाट पछि हटिसकेको भन्दै  मन्त्री गिरील्े  अपचलन गर्ने कम्पनी वा सहकारीको नाम भने लेख्न सकिने बताउनुभयो । उपप्रधान तथा गृहमन्त्री दोषी हो वा होइन भन्ने कुरा छानबिन पछि मात्र पुष्टि हुने भएकाले कुनै व्यक्तिको नाम तोकेर जाँदा गलत नजिर स्थापित हुने बताउनुभयो । 

    मन्त्री गिरीका अनुसार आइतबार संसद्बाट नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याएर पारित गरिने र १५ गते बजेट ल्याउने तयारीमा सरकार जुटेको बताउनुभयो । उहाँले सरकार संसद्लाई छलेर अध्यादेशबाट बजेट ल्याउने पक्षमा नरहेको स्पष्ट गर्नुभयो । “जेठ १५ गते जसरी पनि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ, यसमा प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।  


पृथक प्रसङ्गमा मन्त्री गिरीले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक चाँडै टुङ्गोमा पुग्ने दाबी गर्नुभयो । विधेयकमा सबै राजनीतिक दलका शीर्ष नेता सकारात्मक रहनुभएको तथा उहाँहरू सहमतिको नजिक हुनुहुन्छ भन्दै उहाँले विपक्षी दलको अवरोधका कारण संसद् सहज ढङ्गले सञ्चालन नहुँदा  दर्जनौँ विधेयक थन्किएका बताउनुभयो । विधेयक पारित  नहुँदा स्थानीय र प्रदेश सरकारलाई काम गर्न कठिन भएको उहाँले बताउनुभयो ।

शनिबार ११ जेठ २०८१ १२:५६ PM मा प्रकाशित

प्रतिक्रिया