काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका छन् ।
बुधबार जनकपुरधामस्थीत जानकी मन्दिरको दर्शन गर्ने क्रममा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले कुनै एक क्षेत्रको नभई समग्र मुलुकको विकासको कुरा गर्ने भन्दै अव तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका हुन् ।
उनले सिङ्गो देश र मधेसलाई विभाजन गर्ने अथवा अलग गरेर राजनीति गर्ने युगलाई अन्त्य गर्न खोजेको उल्लेख गरे । उनले इमानदारीपूर्वक देशको कुरा गर्ने र जनताको एक एक मतलाई कदर गर्दै अघि बढ्ने धारणा राखे ।
दशकौंसम्म विभेद र अन्यायमा परेको मधेशलाईसमेत प्राथमिकतामा राख्दै यहाँका धार्मिक पर्यटनलाई बढावा दिने गरी काम गरिने उनले बताए । लामिछानेले रास्वपाले अघिल्लो निर्वाचनमा सुशासनको कुरा गरेपनि विभेदको कुरा गर्न चूकेको भन्दै यसपटक विभेदको अन्त्यसँगै सुशासनको स्थापनाका लागि गम्भीर भएर लाग्ने उल्लेख गरे ।
लामिछानेले नेताले बाँडेको पैसा लिँदा ‘पाप नलाग्ने’ टिप्पणी गरेका छन् । ‘पैसा खर्च गरेर मधेशको भोट परिवर्तन गर्नेहरूलाई खबरदारी गर्नुहोला । पैसाले भविष्य बेच्ने होइन, पैसामा आफ्नो भविष्य नबेच्नुहोला,’ उनले भने, ‘कसैले दिए भने लिए हुन्छ, किनकि त्यो हाम्रो चोरेको पैसा हो । आफ्नै पैसा चोरेर लिएर गएर हामीलाई नै बाँड्छ भने आफ्नै पैसा लिँदो पाप लाग्दैन । तर, गलत मान्छेलाई भोट हाल्दा पाप लाग्छ ।’
लामिछानेले समाजलाई जात र धर्मका नाममा विभाजन गर्न खोज्नेलाई भोट नदिन आग्रह पनि गरे । ‘जात आफ्नो छ, धर्म आफ्नो छ, सभ्यता, संस्कृति सबै आफ्नो छ। राजनीति अब्बल मान्छेले चलाउने कुरा हो,’ उनले भने,’अब धेरै दिन बाँकी छैन, अब थोरै दिन बाँकी छ, इतिहासल बदल्न। देश र मधेसले नयाँ इतिहास लेख्दै छ ।’
जानकी मन्दिरलाई साक्षी राख्दै उनले जनकपुरधामको विकासका लागि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, बहुप्रतिक्षित राम जानकी बहुउद्देश्य रंगशाला बनाएर दिने र मन्दिरका जग्गा कब्जा गर्नेहरुलाई खोजी खोजी कारबाही गर्ने चेतावनी दिए।
उनले भने, ‘जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत नारा वर्षौंदेखि हामीले सुन्यौँ, तर अब त्यो सपना हामी रास्वपाले साकार पार्नेछौं, जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला चुनावी नारामै सीमित भएको देख्यौँ अब ती सबै पूरा गर्ने समय आएको छ, रास्वपाको सरकार बने त्यो सपना पनि साकार पार्नेछौँ।’ उनले सबै अतिक्रमित जग्गालाई अतिक्रमण मुक्त गराई अतिक्रमणकारीहरूलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउनेछौं।
प्रतिक्रिया