काठमाडौँ - एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि पार्टीले लिने नीति तथा कार्यक्रमका सम्बन्धमा सार्वजनिक बहस गर्न तयार रहेको बताएका छन् ।
भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच एउटै मञ्चमा सार्वजनिक बहस हुनुपर्ने माग भइरहेका बेला एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले आफू तयार रहेको जानकारी दिएका हुन् । ओलीले बहसका लागि तयार रहेको जनाउँदै भने, ‘देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन्, देशनिर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ ।’
उनले पब्लिक डिबेटमा उभिएर आफूले गरेका कामको तथ्य र अब काम कसरी गर्ने भन्ने एजेन्डा प्रस्तुत गर्न तयार रहेको पनि जनाए ।
‘चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेन्डा राख्ने प्रतिबद्धता जनाउँछु । त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्छु’, ओलीले भने ।
ओलीले सार्वजनिक बहस गर्न तयार भएको बताउँदै गर्दा अर्का प्रधानमन्त्रीका उम्मेदवारका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिस्ठ नेता बालेन शाहले ओलीसँग बहस नगर्ने बताएका छन् ।
आज बिहान सामाजिक सञ्जालमा ओलीले लेखेको सन्देशमा प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’
बालेनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ। २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ?’

प्रतिक्रिया