काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज बुधबार हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ । देवी भागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ ।
नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरेका छन् । घटस्थापनाको दिनदेखि सुरू भएको नवरात्रिको तेस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हो ।
घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ ।
जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।
यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । यसदिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजा गरिएको हुन्छ ।
पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । श्रौतयज्ञानुसार पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदि स्मार्तबलि गरि दुई प्रकारको हुन्छ । बलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।
जमराको रूपमा गहुँ तथा जौको अंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । वनौषधिविज्ञहरूका अनुसार जौका जमरालाई महौषधि भनिन्छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ ।
जमराबाट शीतलता एवं नूतनको प्रतिक हो । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।
दूर्गा कवच मन्त्र–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको बताइन्छ । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
दुर्गाको प्रतीकका रुपमा महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नौ कन्याको पूजासमेत गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ ।
दशैंको टीकाको शुभ साइत:
बडा दशैँको टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गर्दै टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे तोकिएको छ भने असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि र असोज १५ गते बुधवार महानवमी स्थिरासन बिहान ९: २३ बजे तोकिएको छ ।
प्रतिक्रिया