×

नेपालको एकदिवसीय विश्वकप खेल्ने सपना समाप्त

images

काठमाडौं । ब्याटिङ र बलिङ दुबैमा कमजोर प्रदर्शनसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो । तर हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्‍यो ।

नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपालको सुपर सिक्स चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । नेपाललाई हराएपछि नेदरल्यान्ड्स सुपर सिक्स चरणमा पुगेको छ । नेपालले भने अब प्लेअफ चरणको खेल खेल्नेछ । उक्त नतिजापछि पहिलो पटक एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना पनि कम्तीमा थप चार वर्षका लागि टाढा धकेलिएको छ । 

नेदरल्यान्डका लागि ओपनर म्याक्स ओडडले ९० रनको योगदान गरे । उनको विकेट गुल्सन झाले लिए । बास डि लिडले अविजित ४१ रन बनाए । ओपनर बिक्रमजित सिंहले ३० रन जोडे । उनको विकेट सन्दीप लामिछानेले लिए । वेस्ली बारेसीलाई पनि सन्दीपले तीन रनमा आउट गरे । 

समूह ‘ए’ मा पहिलो स्थानमा आसिन वेस्ट इन्डिज, दोस्रो स्थानमा आसिन जिम्बाब्वे र तेस्रो स्थानमा आसिन नेदरल्यान्ड्सको चार/चार अंक छ । दुई अंकसहित नेपाल चौथो स्थानमा छ । अमेरिका भने तालिकाको अन्तिम स्थानमा छ ।

पहिलो चरणको खेलपछि दुबै समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली प्रतियोगिताको सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । दुबै समूहको चौथो र पाँचौँ स्थानमा रहने टोलीले भने प्लेअफ चरणको खेल खेल्नेछन् । 

यो छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली यसै वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि चयन हुनेछन् । यसका अतिरिक्त यो प्रतियोगिताले सहभागी अन्य टोलीको वरियतासमेत निर्धारण गर्नेछ । 

शनिबारको खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमै अलआउट हुनुअघि एक सय ६७ रनमात्र बनाउन सक्यो । नेपाली ब्याट्सम्यानहरुले निराशाजनक प्रदर्शन गरे । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । 

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले २७/२७ रन बनाए । भीम सार्की २२ रनमा आउट भए । गुल्सन झाले १५ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । कुशल मल्ल १२ रनमै पभेलियन फर्किए । 

टोलीको कूल स्कोर एक सय २३ रन हुँदा दीपेन्द्रसिंह ऐरी आउट भएपछि बलरहरूले उत्कृष्ट ब्याटिङ गर्दै टोलीको स्कोरलाई एक सय ६७ रनसम्म पुर्‍याएका थिए ।

आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण भने आगामी अक्टोबर/नोभेम्बरमा हुनेछ । उक्त विश्वकपमा १० टोलीको सहभागिता जनाउने छन् । अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका गरी विश्वकपमा सहभागी हुने आठ टोलीको भने यसअघि नै टुंगो लागिसकेको छ ।

नेपालले अब ७ औं देखी १० औं स्थान सम्मको लागि प्लेअफ खेल्नेछ ।

 

शनिबार ९ असार २०८० ०८:४१ PM मा प्रकाशित

प्रतिक्रिया