×

लिभरपुललाई उपाधि जित्न एक अंक आवश्यक

images

काठमाडौं। दोस्रो स्थानमा रहेको आर्सनलले बुधबार प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग २–२ को बराबरी खेलेपछि लिभरपुललाई कीर्तिमानी बराबरी २०औं इङ्लिस प्रिमियर लिग उपाधि जित्न अब मात्र एक अंक चाहिएको छ।

अब आर्ने स्लटको नेतृत्वमा लिभरपुल आइतबार टोटनह्यामसँगको खेलमा पराजित नभए पुग्छ। एनफिल्डमा हुने सो खेल जित्दा वा बराबरी गरेमा बाँकी चार खेल अगावै लिभरपुलले उपाधि हात पार्नेछ। योसँगै लिभरपुलले पाँच वर्षमा दोस्रो र समग्रमा म्यानचेस्टर युनाइटेडसँग बराबरी गर्दै २०औं लिग उपाधि उचाल्ने छ।

लिभरपुलले सन् २०२० मा उपाधि जित्दा ३० वर्ष लामो प्रतीक्षा तोडेको थियो। तर, कोरोना महामारीका कारण समर्थकहरूसँग खुसी साट्न पाएनन्। यसपालि भने क्लबले आफ्ना समर्थकहरूसँगै उपाधिको खुसियाली मनाउने तयारी गरिरहेको छ।

इमिरेट्स स्टेडियममा आर्सनलले दुई पटक अग्रता लिए पनि त्यो जोगाउन सकेन। विलियम सालिबाको गल्तीको फाइदा उठाउँदै क्रिस्टल प्यालेसका जिन–फिलिप माटेटाले ८३औं मिनेटमा बराबरी गोल गरे र आर्सनललाई १२ अंकले पछाडि धकेले।

बुकोयो साकालाई बेन्चमा राखेर सुरु गरेको आर्सनल खेलभरि नै कमजोर देखियो। सम्भवतः आर्सनलको ध्यान अर्को साता सुरु हुने च्याम्पियन्स लिग सेमिफाइनलमा रहेको पेरिस सेन्ट–जर्मेन (पिएसजी)विरुद्धको खेलमा केन्द्रित थियो।

‘हामीसँग सिजनकै सबैभन्दा महत्त्वपूर्ण खेल अब ६ दिनमा छ। हामीले फेरि उर्जा जुटाउनु पर्छ,’ आर्सनल प्रशिक्षक मिकेल आर्टेटाले भने।

अघिल्ला दुई सिजनमा प्रिमियर लिगको उपविजेता बनेको आर्सनल अब तेस्रो पटक पनि दोस्रो स्थानमा सीमित हुने खतरा छ। मंगलबार एस्टन भिलालाई २–१ ले हराएको म्यानचेस्टर सिटी आर्सनलभन्दा ६ अंकले पछाडि तेस्रो स्थानमा छ।

खेलको सुरुआतमै जाकुब किभियोरले फ्रिकिकमार्फत गोल गर्दै आर्सनललाई अग्रता दिलाए। तर, २७औं मिनेटमा एबेरेची एजेले कर्नरबाट आएको बलला सानदार भलीमार्फत बराबरी गरे।

४२औं मिनेटमा लिआन्द्रो ट्रोसार्डले पेनाल्टी बक्सभित्र बल सम्हालेर डिफ्लेक्ट भएको प्रहारमार्फत आर्सनलको अग्रता फर्काए। तर, अन्त्यमा माटेटाले सालिबाको खराब पासको फाइदा उठाउँदै ४० मिटर टाढाबाट गोल गोल गरे।

१२औं स्थानमा रहेको क्रिस्टल प्यालेसका लागि लिगमा अब धेरै खेल बाँकी छैन। तर,  शनिबार एस्टन भिलाविरुद्धको एफए कप सेमिफाइनलतर्फ आत्मविश्वाससहित अग्रसर छ।

‘शनिबारको सेमिफाइनलका लागि यो ऊर्जा र आत्मविश्वास कायम राख्नु महत्त्वपूर्ण छ। हाम्रो लक्ष्य उपाधि दौडमा असर पुर्‍याउने थिएन, जित्नु नै थियो। बराबरी पनि राम्रो नतिजा हो, अझ महत्त्वपूर्ण कुरा भनेको हाम्रो प्रदर्शन हो। हामी फेरि लयमा फर्किएका छौं,’ प्यालेस प्रशिक्षक ओलिभर ग्लास्नरले भने।

बिहीबार ११ बैशाख २०८२ ०९:४० AM मा प्रकाशित

प्रतिक्रिया