काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै 'यो सरकार ढल्दैन' भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन् । पार्टीको ११औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित सभामा चन्दले यो सरकार पनि कति चल्छ भन्ने अनिश्चित रहेको बताए ।
‘यो सरकार पनि के हुन्छ भन्ने निश्चित छैन भन्ने सुनिरहन्छौं । सरकारले कहिले काम गर्ने हो ?’ चन्दले भने, ‘प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा पनि दिनदिनै उहाँको कुरा के थियो सरकार ढल्दैन है ढल्दैन भनेर भाषण गर्ने ।’ सरकार कुनैपनि बेला ढल्नसक्ने भएकाले प्रधानमन्त्री ओली 'यो सरकार ढल्दैन' भनेर भाषण गर्नमा केन्द्रित हुनुपरेको चन्दको भनाइ थियो ।
सरकार टिक्ने अवस्था नभएकाले मुलुकमा विकास, निर्माणको कामले गति लिन नसकेको चन्दको भनाइ थियो । ‘हरेक वर्ष सरकार फेरिने । यो सरकार पनि के हुन्छ भन्ने कुरा निश्चित छैन भन्ने कुरा सुनिरहन्छौं । सरकारले कहिले काम गर्ने हो ? प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा पनि दिनदिनै उहाँको कुरा के थियो 'सरकार ढल्दैन है' भन्दै भाषण गर्ने ।
आजकाल केपीजी हुनु भएको छ, केपीजीको पनि कामै के छ भन्दाखेरी जम्माजम्मी यो सरकार ढल्दैन भन्ने,' चन्दले भने, 'जनतालाई के लागेको छ भने यो सरकार राति ढल्नसक्छ, यो रातको १२ बजे ढल्न सक्छ, यो बिहानै उछिट्टिन सक्छ, अथवा देशलाई भ्रष्टाचारीहरूले कब्जा गर्न सक्छन् । यो लागिरहन्छ । देशको विकास कहिले गर्ने हो ? जनता सन्तुष्ट छैनन् ।’
महासचिव चन्दले आफ्नो पार्टीमाथि दमन गर्ने नीति लिए त्यसको कडा ढंगले प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् । सुशासनको अभाव र भ्रष्टहरूले सरकार हटाउने र सत्ता कब्जा गर्ने हर्कत गरिरहेकाले जनतामा आक्रोश र असन्तुष्टि जन्मिएको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै महासचिव विप्लवले भने– ‘मध्यम वर्गीयको चाहना नेकपाले आगामी निर्वाचनमा भाग लियोस् भन्ने छ । हामी चाहन्छौँ सरकारले विगतमा सम्झौता गरेको तीन बुँदे कार्यान्वयन गरोस् । झुटा मुद्दामा फसाइएको साथीहरूलाई रिहाइ गरोस् । हामीसँग भएको सहमति सरकारले कार्यान्वयन गरेमा ०८४ को निर्वाचनमा सबै दलसँग प्रतिस्पर्धा गर्न हामी तयार छौँ । हामी ६७४३ वडामा लड्ने छौँ । ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने छौँ ।’
प्रतिक्रिया