काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाईं र पत्रकार बालिका सिवाकोटी सम्मिलित वैदेशिक रोजगार ठगी प्रकरणमा नयाँ तथ्यहरू बाहिर आएका छन्। वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाई करोडौँ रुपैयाँ असुल गरेको अभियोगमा पक्राउ परेका उनीहरूमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गहन अनुसन्धान अगाडि बढाएको छ।
अनुसन्धानका क्रममा पक्राउ परेकी दोलखा कालिञ्चोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ बस्दै आएकी ३२ वर्षीया बालिका सिवाकोटीले ठगी गरी सङ्कलन गरिएको रकममध्ये ठूलो हिस्सा कांग्रेस नेता चौलागाईंलाई बुझाएको बयान दिएकी छन्।
सरकारले सन् २०२४ मा वैदेशिक रोजगारीका लागि नेपालबाट इजरायल कामदार पठाउन लिएको परीक्षामा लक्की ड्रमार्फत २ हजार ९९ जना छनोट भएका थिए। त्यस क्रममा छनोटमा पर्न नसकेका १५६ जना युवाहरूलाई ‘हामी मन्त्रिपरिषद्बाटै निर्णय गराएर पठाइदिन्छौँ’ भन्दै आरोपीद्वयले विश्वासमा पारेका थिए।
पीडितहरूलाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम र पद दुरुपयोग गर्दै उच्च राजनीतिक पहुँचका आधारमा काम मिलाइदिने आश्वासन दिइएको थियो। इजरायल पुगेपछि प्राप्त हुने एक महिनाको तलब बराबरको रकम बुझाउन राजी भएका १५६ जना पीडितहरूबाट उनीहरूले कुल २ करोड ५० लाख रुपैयाँ उठाउन सफल भएका थिए।
पीडितहरूबाट सङ्कलित रकममध्ये बालिका सिवाकोटीले १ करोड ५० लाख रुपैयाँ नगदै भरत चौलागाईंलाई सुम्पेको सीआईबीसमक्ष बयान दिएकी छन्। बयानका क्रममा उनले भनेकी छन्, “पीडितहरूबाट रकम सङ्कलन गरेपछि मैले भरत चौलागाईंलाई गौशालामा भेटेर डेढ करोड रुपैयाँ नगदै बुझाएको हुँ।”
भदौ १८ गते उक्त रकम बुझेपछि चौलागाईं नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीका लागि गृहजिल्ला रामेछाप पुगेका थिए। रामेछापको सुनापति गाउँपालिका–१ का बासिन्दा चौलागाईं आगामी महाधिवेशनमा जिल्ला सभापतिको दाबेदारका रूपमा चुनावी दौडधुपमा थिए।
लामो समय बित्दासमेत काम नभएपछि र मन्त्रिपरिषद्बाट कुनै निर्णय नभएको थाहा पाएपछि आक्रोशित पीडितहरूले बालिका सिवाकोटीलाई नियन्त्रणमा लिएर काठमाडौँ नजिकैको एक रिसोर्टमा राखेका थिए। रिसोर्टमा छँदा सिवाकोटीले चौलागाईंलाई फोन गरी काम छिटो फछ्र्यौट गर्न आग्रह गरेकी थिइन्।
सो क्रममा चौलागाईंले “मैंने कुमार बेनसँग कुरा गरिसकेको छु, काम चाँडै हुन्छ” भन्दै ढाडस दिएका थिए। पीडितहरूले उक्त टेलिफोन संवादको अडियो रेकर्ड सीआईबीमा प्रमाणका रूपमा बुझाएका छन्।
सीआईबीले असोज १ गते चौलागाईंलाई रामेछापको मन्थलीबाट र सिवाकोटीलाई काठमाडौँबाट पक्राउ गरेको थियो। यद्यपि, अनुसन्धान अधिकृतहरूसँगको सोधपुछका क्रममा चौलागाईंले भने रकम लिएको कुरा अस्वीकार गर्दै आएका छन्। आफू जग्गा कारोबारमा संलग्न रहेकाले सिवाकोटीसँग ऋणबापत केही रकम मात्र लिएको दाबी उनले गरेका छन्।
काठमाडौँ जिल्ला अदालतबाट दोस्रो पटक ७ दिनको म्याद थप गरी दुवै जनामाथि ठगी तथा सङ्गठित अपराधमा अनुसन्धान भइरहेको सीआईबीका सूचना अधिकारी (एसएसपी) अनुपम शमशेर जबराले जानकारी दिएका छन्।
प्रतिक्रिया