गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी सङ्कलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र १६ वटा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन् । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ ५ गतेसम्म ती उजुरी परेका हुन् । उजुरीको बारेमा जाँचबुझ भइरहेको उहाँले जानकारी दिनुभयो ।
मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिकरूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको शृङ्खलाले सयौँ परिवार विचल्ली भएको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन गरेको थियो । सोही निर्देशनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार प्रशासनमा परेका निवेदनका आधारमा सरोकारवाला दुवै पक्षलाई बोलाएर छलफल गरिने छ । छलफलमा सहमति नभए कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने बताउनुभयो ।
कारबाहीका लागि प्रहरीकोमा पठाएसँगै गृह मन्त्रालयमा समेत सिफारिस गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बंैकिङ कसुर र मुलुकी अपराध संहिताअनुसार मुद्दा चल्छ ।” चलनचल्तीको भन्दा बढी बयाज लिन नपाइने उहाँको भनाइ छ ।
प्रतिक्रिया