जनकपुरधाम । मलेसिया भ्रमणमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्साको वीरगंजमा देखिएको हैजा संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले सबै सम्भावित उपाय अपनाउने निर्देश दिएका छन्।
उनले स्वास्थ्य निर्देशनालय तथा स्थानीय स्वास्थ्य कार्यालयहरूलाई सक्रिय भएर काम गर्न आग्रह गर्नुका साथै वीरगंजस्थित नारायणी अस्पतालसहित अन्य अस्पताललाई संक्रमित बिरामीको उपचारमा तत्पर रहन निर्देशन दिएको उल्लेख गरेका छन् ।
संक्रमण फैलिन नदिन र प्रभावित क्षेत्रमा तत्काल उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्यकर्मी परिचालन गर्न पनि मुख्यमन्त्री सिंहले निर्देशन दिएको बताएका छन् ।
यसैक्रममा, उपचार सेवा प्रभावकारी बनाउन विशेष समन्वयको जिम्मेवारीसहित स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगंज पठाइएको प्रदेश सरकारले जनाएको छ ।
मुख्यमन्त्री सिंहले भनेका छन्-
म निजी भ्रमणका क्रममा मलेसियामा रहेको भए पनि पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमणपछि उपचार तथा नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्न निर्देशन दिएको छु । संक्रमण नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयहरूलाई सक्रिय रूपमा काम गर्न भनेको छु। साथै, वीरगंजस्थित नारायणी अस्पतालसहित अन्य सबै अस्पताललाई संक्रमित बिरामीहरूको उपचारमा पूर्ण सक्रिय रहन आग्रह गरिएको छ।
संक्रमण देखिएको क्षेत्रमा तत्काल आवश्यक उपचार सेवा उपलब्ध गराउन र थप फैलिन नदिन प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ । उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत श्री सन्तोषकुमार ठाकुरलाई विशेष जिम्मेवारीसहित वीरगंज खटाइएको छ ।
प्रतिक्रिया