×

१६ वर्षीय एक बालकमा हैजा पुष्टि

images

काठमाडौं । ललितपुरका १६ वर्षीय एक बालकमा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवस्थित एक पुनर्स्थापना केन्द्र बस्ने उनमा हैजा पुष्टि भएको हो। त्यस्तै, सोही ठाउँबाट आएका एक जना झाडापखालाका बिरामीको रिपोर्ट आउन बाँकी छ उनी आइसियुमा उपचाररत छन्।

उनले भने, “सोही ठाउँबाट हैजाका लक्षण लिएर चार जना युवा आएको थियो एक जनामा हैजा पुष्टि भयो। अर्को एक जनाको रिपोर्ट कल्चरको लागि दिइएको छ। दुई जना सोमबार राति अस्पतालबाट भाग्नुभयो।” पछिल्लो समय अस्पतालमा झाडापखाला भएर दैनिक करिब १० जनाको हाराहारीमा बिरामी उपचारका लागि आउने डा. बसौलाले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हैजा अन्य ठाउँमा फैलन नदिन हैजा भेटिएको पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिइसकेको बताए ।

अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले हैजा भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने अति सङ्क्रमण नै झाडापखाला रोग भएको बताए । उनका अनुसार हैजा बनाउने ब्याक्टेरिया शरीरभित्र प्रवेश गरेर झाडापखाला लागि जलवियोजन भएर मृत्युसमेत हुनेगर्छ। शरीरमा जलवियोजनका कारण तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने जस्ता लक्षण देखिन्छन्।

हैजा लाग्न नदिन सधैँ पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरे मात्रै पिउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, बासी सडेगलेका खानेकुरा नखाने, खाना छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारी सरसफाइलाई विशेष ध्यान डा. पुनको सुझाव छ।

मङ्गलबार ८ साउन २०८१ ०७:०० PM मा प्रकाशित

प्रतिक्रिया