×

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

images

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुर्सी खतरामा पर्ने देखिएको छ । यस वर्ष उनको कुल सम्पत्ति ५९.४ अर्ब डलरले घटेपछि उनले विश्वकै धनी व्यक्तिको शिर्ष स्थान गुमाउन सक्ने देखिएको छ । यसका बाबजुद पनि उनी ३७३ अर्ब डलरको कुल सम्पत्तिसहित विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा कायम छन् । उनलाई ल्यारी एलिसनले पछ्याइरहेका छन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार, सफ्टवेयर कम्पनी ओरेकलका संस्थापक एलिसनको कुल सम्पत्ति मंगलबार मात्र  २८.४ अर्ब डलरले बढेको छ । यससँगै उनको कुल सम्पत्ति २८९ अर्ब डलर पुगेको छ । यदि उनको कुल सम्पत्ति यही गतिमा बढ्दै गयो भने, उनी केहि दिनमा नै मस्कलाई उछिन्न सक्ने विश्लेषण गरिएको छ ।

मस्क र एलिसनको कुल सम्पत्तिमा हाल ८४ अर्ब डलरको भिन्नता छ । यस वर्ष एलिसनको कुल सम्पत्ति ९६.८ अर्ब डलरले बढेको छ । ८० वर्षीय एलिसनको विशाल टेक कम्पनी ओरेकलमा लगभग ४० प्रतिशत हिस्सा छ । लगभग ३७ वर्षसम्म कम्पनीको नेतृत्व गरेपछि, उनले २०१४ मा सीईओ पद छोडेका थिए । उनले डिसेम्बर २०१८ देखि अगस्ट २०२२ सम्म टेस्लाको बोर्डमा पनि काम गरेका थिए । एलिसनले २०१२ मा हवाईमा ३०० मिलियन डलरमा एउटा टापु किने र २०२० मा स्थायी रूपमा त्यहाँ सरे ।

धनीहरूको सूचीमा अर्को उलटफेर भएको छ । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग अब यो सूचीमा चौथो नम्बरमा झरेका छन् । मंगलबार, उनको कुल सम्पत्ति २.७९ अर्ब डलरले घटेर २४८ अर्ब डलर पुगेको छ । अमेजनका संस्थापक जेफ बेजोसले अब उनलाई उछिनेका छन् । उनको कुल सम्पत्ति २४९ अर्ब डलर छ र उनी धनीहरूको सूचीमा तेस्रो नम्बरमा पुगेका छन् ।

यस सूचीमा स्टिभ बाल्मर (१७३ अर्ब डलरसहित) चौथो, ल्यारी पेज (१७२ अर्ब डलरसहित) पाँचौं, सर्गेई ब्रिन (१६१ अर्ब डलरसहित) छैटौं, बर्नार्ड अर्नाल्ट (१५५ अर्ब डलरसहित), जेन्सेन हुआङ (१४६ अर्ब डलरसहित) र वारेन बफेट (१४३ अर्ब डलरसहित) १० औं स्थानमा छन् । भारत तथा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी १०२ अर्ब डलरको कुल सम्पत्तिका साथ यस सूचीमा १७औं स्थानमा छन् भने गौतम अदानी ८३.४ अर्ब डलरका साथ २०औं स्थानमा रहेका छन् ।

 

बुधबार ८ साउन २०८२ ०९:३२ PM मा प्रकाशित

प्रतिक्रिया