काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई विचार निर्माण गर्ने र राजनीतिक आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन्।
मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा बोल्दै उनले भण्डारीका राजनीतिक चुनौतीहरूको विश्लेषण, व्याख्या र समाधान प्रस्तुत गर्ने शैलीलाई जीवन्त अभिलेखका रूपमा पुस्तकमा समेटिएको उल्लेख गरिन्।
उनले भनिन्, ‘मदन भण्डारीले आफ्नो समयमा चुनौतीहरुलाई कसरी आत्मसात गर्नुभयो, तिनको कसरी विश्लेषण र व्याख्या गर्नुभयो तथा समाधानका उपायहरु जनतासमक्ष कसरी प्रस्तुत गर्नुभयो भन्ने कुराको जीवन्त अभिलेख यो पुस्तकमा समेटिएको छ।’
भण्डारी सामान्य राजनीतिक नेता मात्र नभई विचार निर्माण गर्ने चिन्तक तथा सिद्धान्तकारसमेत भएको भन्दै उनले जनताको आकांक्षालाई राजनीतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता भएको धारणा राखिन्।
उनले भनिन्, ‘जननेता मदनभण्डारी सामान्य राजनीतिक नेता मात्र नभइ विचार निर्माण गर्ने नेता हुनुहुन्थ्यो। उहाँ राजनीतिक आन्दोलनलाई सुदृढ, सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक एवम् विचारक पनि हुनुहुन्थ्यो।’
पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी सञ्चारको शक्ति, जनमतको महत्व र विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री राजनीतिज्ञका रूपमा परिचित रहेको पनि बताइन्।
उनले भनिन्, ‘जनताको आकांक्षालाई राजनीतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता पनि हुनुहुन्थ्यो। साथै उहाँ संचारको शक्ति, जनमतको महत्व तथा विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्थ्यो।’
प्रतिक्रिया