श्रीनगर। भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मंगलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ। यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन्।
एक स्थानीय टुर गाइड वाहिदले एएफपीलाई भने, ‘गोली चलिरहेको आवाज सुनेपछि म घटनास्थलतिर दौडिँए र घाइतेहरुमध्ये केहीलाई घोडामा बोकेर अस्पताल पुर्याएँ। मैले त्यहाँ केही मानिसहरू भुइँमा लडिरहेका देखेँ।’
पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो । प्रहरी स्रोत अनुसार अहिलेसम्म २६ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ।
हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन। प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरुलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्। जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमण विगत वर्षहरूमा नागरिकमाथि भएको सबैभन्दा ठुलो घटना भएको बताएका छन्।
प्रतिक्रिया