×

कपिलवस्तुमा निषेधाज्ञा जारी

images

काठमाडौं । कपिलवस्तुमा तीन दिनदेखि निषेधाज्ञा जारी रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप हुँदा तनावको अवस्था सिर्जना भएपछि स्थानीय प्रशासनमा ७ चैतमा निषेधाज्ञा जारी गरेको थियो।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार निषेधाज्ञा अझै जारी रहेको छ। भोलिसम्म निषेधाज्ञा हट्ने सम्भावना रहेको बताइएको छ।

मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तीन दिनअघि तनाव सिर्जना भएको थियो।

प्रहरीका अनुसार मुस्लिम समुदाय ईदको अवसरमा मस्जिदमा नमाज पढिरहेका बेला नजिकै रहेको काली मन्दिरमा ठूलो स्वरमा भजन बजाइएको विषयलाई लिएर विवाद सुरु भएको थियो। भजनको आवाज कम गर्न गरिएको आग्रह बेवास्ता भएपछि तनाव चर्किएको जनाइएको छ।

विवाद बढ्दै जाँदा दुवै समुदायबीच ढुंगामुढा समेत भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले लाठीचार्ज गर्नुका साथै केही राउन्ड अश्रुग्यास प्रहार गरेका थिए।

यसैबीच प्रदर्शनकारीहरूले तौलिहवा–बहादुरगञ्ज सडक खण्डअन्तर्गत गैंडहवामा टायर बालेर सडक अवरुद्ध गरेका थिए।

सोमबार ९ चैत २०८२ ०८:१९ PM मा प्रकाशित

प्रतिक्रिया