काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । हाल १४ जना घाइतेको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेजमा र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
ट्रमा सेन्टरमा १४ जनाको उपचार भइरहेको छ । यस्तै, ट्रमा सेन्टरमा उपचार भइरहेकामा चिनियाँ नागरिक २२ वर्षीया कि मिसि हाउ, काठमाडौं बौद्धका वर्ष ४८ की एन्जी शेर्पा, झापाका वर्ष ३० को विपिन मानन्धर, तनहुँका वर्ष ४५ को सोमप्रसाद मल्ल, काठमाडौं गोकर्णका वर्ष २८ की पुजा फुयाल, स्याङ्जा फेदिखोलाका २६ वर्षका सचिन्द्र सुनार र कास्की लेखनाथका प्रदीप लामिछाने छन् ।
यस्तै, ट्रमा सेन्टरमै काठमाडौंको बौद्ध बस्ने नोर्बु पाल्देन, स्वर्णीमा खत्री, कास्कीका १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र काठमाडौं बौद्धका ४८ वर्षीया लङ्साङ्गोली लामाको उपचार भइरहेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गको सडकबाट ३ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् । दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासङ्घ, तीन वटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो ।
प्रतिक्रिया