काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले समय अभावका कारण पार्टीमा टिकट वितरण सोचे जस्तो गर्न नसकेको स्वीकार गरेका छन् । केन्द्रीय समितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि केन्द्रीय कार्यालयमा बोल्दै उनले उम्मेदवार छनौटमा भएका कमि कमजोरीको जिम्मेवारी आफूले लिने भन्दै आफूहरूले काँग्रेसलाई बदलेको र बदलिएको काँग्रेसले देशलाई पनि बदल्ने बताए ।
सभापति थापाले नागरिकहरूमा सुशासनको भोक रहेको र भ्रष्टाचारको छटपटीबाट मुलुकलाई निकाल्नुपर्छ भन्ने रहेको बताएका छन् । उनले आजदेखि काँग्रेस आफ्नो पुरा शक्ति लगाएर निर्वाचनमा होमिएको बताए ।
अघिल्लो निर्वाचनमा मतदाता र काँग्रेसका शुभचिन्तकले रुखमा मत हाल्ने अवस्था बनाएर आउनुस भनेको उल्लेख गर्दै अब आफूहरू त्यो कुरा सुधारेर यस पटक सबै क्षेत्रमा रुखमा मतदान गर्ने अवस्था बनाएर आफूहरू चुनावमा जान लागेको बताए ।
उनले नयाँ युगले नयाँ कुरा खोजेको बताउँदै युवाहरूमा रहेको देश बदल्ने हुटहुटीलाई नयाँ काँग्रेसले सम्बोधन गर्ने बताए । विशेष महाधिवेशनपछि निर्वाचन आयोगमा रहेको वैधानिकताको परीक्षण, अदालतभित्र विषयको प्रवेश र पार्टीका निवर्तमान सभापति लगायतका नेताहरूसँग हामीले गरिरहेको निरन्तर संवादको प्रयास लगायतका कारणले उम्मेदवार छनोटका लागि समय नपुगेको उनको भनाइ थियो ।
शुक्रवार पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सानेपामा सम्बोधन गर्ने क्रममा उनले यस्तो जिकिर गरेका हुन् । ‘केही त्रुटि भएका छन् । कमजोरी भएका छन् । यसका लागि यो कुराको अप्ठेरोलाई बुझिदिनुहुन आग्रह गर्छु,’ थापाले भनेका छन् । सबै निर्वाचन क्षेत्रभित्र त्यहीँ उम्मेदवारी चयनको विषय टुंगिनुपर्ने मत आफूहरूले राख्दै आएको र त्यो कायमै भएको जिकिर गरे ।
‘हामी १६५ निर्वाचन क्षेत्रभित्र नै त्यही क्षेत्रभित्र उम्मेदवारी चयन गर्ने कुरा टुङ्गिनुपर्छ भन्ने मत राख्छौँ । त्यसका निम्ति विधानमा संशोधन पनि गरेका छौँ । अर्कोपटकदेखि कांग्रेसको उम्मेदवार यसरी चयन हुँदैन,’ थापाले भनेका छन्, ‘उम्मेदवार त्यहीँको पार्टीको सदस्यले मतदान गरेर तलै चयन गर्नुहुन्छ । यसपटक हामीसँग यो समयको सुविधा थिएन । प्राइमरी गर्ने भन्ने हाम्रो अवस्था थिएन ।’
प्रतिक्रिया