×

दुर्गा प्रसाईँको अभियानमा आएका महिला मध्यरातमा लखेटिए

images

 काठमाडौं । दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुमाथि आफूलाई युवा संघका कार्यकर्ता बताउने केही व्यक्तिले दुर्व्यवहार गरेका छन् । मंगलबार राति एक पार्टी प्यालेसमा सुतिरहेको अवस्थामा अमानवीय तवरले युवा संघका कार्यकर्ता बताउने एक समूहले उनीहरुलाई लखेटेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ । सुतिरेहका महिलाहरुलाई ओछ्यानबाटै उठाएर लखेटिएको भिडियो सार्वजनिक भएको हो ।

उनीहरु सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर ! तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भन्दै फर्किन धम्क्याएको देखिन्छ । महिलाहरूले भने, ‘पर्खिनुस् न, लुगा त लाउन दिनुस्’ भन्दै याचना गरेको देखिन्छ । 

महिलाहरूले ‘उज्यालोसम्म हामीलाई बस्न दिनुस्, उज्यालो भएपछि हामी जान्छौँ’ भनेर बिन्ती गर्दा पनि ‘हुँदैन’ भनेर तुरुन्त फर्किन चेतावनी दिएको भिडियोमा प्रस्ट सुनिन्छ । भिडियोमा आफूलाई युवा संघको बताउने युवकले, ‘युट्युबमा दुर्गा प्रसाईं भनेर कुर्लिएजस्तो होइन । देखाइदिन्छौँ भनेको होइन, अब हामी देखाइदिन्छौँ, सबैलाई काठमाडौँबाट लखेटेर’ भनेर बोलेको आवाज सुनिन्छ । भिडियोको अन्तिममा ‘दुर्गा प्रसाई पागललाई फोन गरेर युवा संघले लखेट्यो भनेर भन्नुस्’ भनिनएको छ । 

काठमाडौंमा मंसिर ७ गते युवा संघ र प्रसाईं पक्षले कार्यक्रम गर्न लागेका छन्। दुवै टोलीले माइतीघरमा कार्यक्रम गर्ने सम्भावना देखेपछि काठमाडौं प्रशासनले एक महिना माइतीघर-नयाँ बानेश्वर क्षेत्र निषेधित क्षेत्र तोकेको छ भने दुवै पक्षलाई कार्यक्रम गर्ने स्थानसमेत तोकिदिएको छ।

प्रशासनको आग्रहमा युवा संघले तीनकुने र प्रसाईं पक्षले बल्खुमा कार्यक्रम गर्ने तयारी गरेका छन्। पछिल्लो समय युवा संघ इन्चार्ज महेश बस्नेत र मेडिकल व्यवसायी प्रसाईंबीच आरोप-प्रत्यारोप चल्दै आएको थियो।   सो घटनाबारे प्रहरीको १०० नम्बरमा फोन गएको थियो । भक्तपुर प्रहरीले फोन आएपछि घटनास्थलतर्फ तत्काल टोली पठाइएको गएको बताएको छ ।

महिलाहरूमाथि अभद्र व्यवहार गर्ने युवा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान अघि बढाइएको र सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्नेहरूलाई खोजी गरिएको प्रहरीले जनाएको छ। 

बुधबार ६ मंसिर २०८० ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया