×

दशैंमा कैदीबन्दी मुढा उत्पादनमा व्यस्त

images

दमौली । जिल्ला कारागार तनहुँमा यस वर्षको दशैंमा पाँच लाख बराबरको मुढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । 

त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् । 

बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई चटारो रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

उनका अनुसार कैदीबन्दी यतिबेला मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायतका कार्यमा व्यस्त छन् । 

प्रमुख अधिकारीले भने, ‘विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आयआर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौँ । कैदीबन्दीले मुढा बिक्री गरेर दशैंमा घरखर्चसमेत पठाउने गरेका छन् ।’

कारागारमा बुनिएको मुढा तीन सय ५० देखि एक हजारसम्ममा बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिए । 

उनका अनुसार दशैंमा रु पाँच लाख बराबरको मूढा बिक्री हुने अनुमान गरिएको छ । उनले भने, ‘कारागारमा यत्तिकै दिन कटाउनुभन्दा अधिकांश कैदीबन्दी आयआर्जनतर्फ जोडिएका छन् । धेरैजसोले दसैँंमा मुढा बिक्री गरेबापतको पैसा घरमा पठाउने गरेका छन् ।’ 

कारागारमा दुई ब्लकमा दुई सय ८२ कैदीबन्दी छन् । चाडपर्वमा मूढाको माग बढी हुने गर्दछ । यहाँ उत्पादित मुढा विभिन्न ठाउँमा बिक्री हुने गरेको छ । कतिपयले भने कारागार मै आएर पनि मुढा किन्ने गरेका छन् ।

कैदीबन्दीका अनुसार एउटा मुढा तयार गर्नका लागि दुई÷तीन दिन लाग्छ । कारागारमा मुढा बुनेर मासिक रु पाँचदेखि छ हजारसम्म आम्दानी हुने गरेको बताइन्छ । 

मूढा उठाउने, टायर राख्ने, बुन्ने, विट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् ।
 

आइतबार​ ५ कात्तिक २०८० ०६:३८ PM मा प्रकाशित

प्रतिक्रिया