काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।
बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद्हरु बताउछन् । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
कति बेला छ घटस्थापनाको शुभ साइत ?
बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ९: १३ बजे घटस्थापना गर्ने साइत रहेको छ ।
दशैंको टीका साइत
बडा दशैँको टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गर्दै टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे तोकिएको छ भने असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि र असोज १५ गते बुधवार महानवमी स्थिरासन बिहान ९: २३ बजे तोकिएको छ ।
प्रतिक्रिया