काठमाडौँ, ६ भदौ (२०८३) । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले देशका अधिकांश भूभागमा साधारणतया बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले वर्षा र हिमपातका कारण हुनसक्ने प्राकृतिक जोखिमबाट बच्न देशैभरका सर्वसाधारणलाई सतर्कता अपनाउन विशेष आग्रह गरेको छ ।
शनिबार दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुन सक्नेछ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ । दिउँसोको समयमा विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका धेरै स्थानहरूमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । राति कोशी र बागमती प्रदेशको पहाडी तथा तराई भूभाग र गण्डकी प्रदेशको पहाडी भागका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ ।
लगातारको बदली र भारी वर्षाको सम्भावनाका कारण पहाडी तथा तराई क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ । भारी वर्षा हुन सक्ने स्थानहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्नेछ । वर्षाका कारण नदी नालाहरूमा पानीको बहाव बढ्ने हुँदा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।
महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन तथा मौसम सम्बन्धी अद्यावधिक जानकारीका लागि नियमित रूपमा मौसम बुलेटिन हेर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया