काठमाडौँ, ६ भदौ (२०८३)। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि कडा प्रहार गर्दै यसलाई ‘बारुला’ को संज्ञा दिएका छन्। शनिबार भक्तपुरको नगरकोटमा आयोजित एमालेको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’ लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले राज्यशक्तिको दुरुपयोग गरी नेपाली जनता र निजी क्षेत्रमाथि डर, त्रास र आतंक सिर्जना गरेको गम्भीर आरोप लगाए ।
उनले सरकारको धरपकड र चेतावनीप्रति कडा प्रतिवाद गर्दै भने, “यी बारुलाहरूसँग डराएर हामीले देश सधैँ यिनीहरूका जिम्मामा छाड्न सक्दैनौँ।” सम्बोधनका क्रममा अध्यक्ष ओलीले बालेन्द्र (बालेन) शाह नेतृत्वको वर्तमान सरकार गठन भएकै दिन आफूलाई राजनीतिक प्रतिशोधका आधारमा रातभर लगाएर बिहानपख गिरफ्तार गरिएको प्रसंग उप्काए ।
सरकारले आफू जत्तिको कदको नेतालाई समातेपछि ‘केपी ओली त समातिए, अब अरूको के हविगत होला’ भनी देशैभरका सर्वसाधारण र विपक्षीलाई थर्कमान गराउने (तर्साउने) कुत्सित मनसाय राखेको ओलीको दाबी छ। सरकारलाई लक्षित गर्दै उनले भने, “म यी बारुलासँग डराउँछु भन्ने उनीहरूलाई लागेको होला । तर उसलाई थाहा हुनुपर्छ– मैले यस्ता बारुला मात्रै होइन, राजनीतिक जीवनमा कति अरिंगाल र कति बच्छ्यूँहरू खाएर (पचाएर) आएको छु ।”
ओलीले वर्तमान सरकारले देशको अर्थतन्त्रलाई धराशायी बनाउन व्यावसायिक घराना र निजी क्षेत्रमाथि डन्डा चलाइरहेको आरोप लगाए ।कसैलाई बद्नाम गर्न, रिसिइबी साध्न वा जेल हाल्नका लागि उद्योगी र ठेकेदारहरूको बैंक खाता रोक्का गर्ने र सम्पत्ति फ्रिज गराउने काम भइरहेको उनले जिकिर गरे । काम गरिरहेका व्यवसायीको कारोबार रोकिदिएपछि बैंकको ब्याज बढ्ने, मजदुरले पारिश्रमिक नपाउने र अन्ततः व्यवसायीहरू सुकुमवासीभन्दा बेहाल अवस्थामा पुग्ने गरी सरकारले देशलाई आर्थिक संकटमा धकेल्न खोजेको उनले बताए ।
नयाँ शक्ति र नयाँ अनुहारका नाममा प्रक्रिया नै नबुझेका र ज्ञान नभएका व्यक्तिहरूले देश चलाउन खोज्दा मुलुक दुर्घटनातर्फ अघि बढेको ओलीको तर्क थियो ।
खाना पकाउन नजान्ने सानो बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै र नाच्न-बजाउन नजान्नेलाई स्टेज सुम्पिएजस्तै अहिलेको सरकारको हविगत रहेको उनले टिप्पणी गरे। प्रतिगमनतर्फ गइरहेको देशलाई सही ट्र्याकमा फर्काउनु, प्रतिगमनकारीलाई पराजित गर्नु, अपहरित लोकतन्त्र फिर्ता ल्याउनु र मिचिएको संविधानको पुनः स्थापना गर्नु नै एमालेको प्रमुख कार्यभार रहेको उनले प्रष्ट पारे ।
अध्यक्ष ओलीले वर्तमान अराजक र आतंकको स्थितिलाई एमालेले टुलुटुलु हेरेर नबस्ने र देशलाई सुशासन तथा विकासको बाटोमा फर्काउन जुनसुकै कदम चाल्न तयार रहेको चेतावनी दिँदै आफ्नो मन्तव्य टुङ्ग्याएका थिए ।
प्रतिक्रिया