काठमाडौँ — नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमाथि तीखो व्यंग्य प्रहार गरेका छन्। बिपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित विशेष कार्यक्रममा बोल्दै थापाले सरकार र प्रतिपक्ष दुवै नियन्त्रणविहीन ढङ्गले अघि बढिरहेको बताएका हुन्।
कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, “गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, अनि दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने स्थिति बनेको छ।”
थापाको यो अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन महाधिवेशनमा आएको अभिव्यक्तिप्रति लक्षित थियो। सो क्रममा वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो तोकिएको गन्तव्यमा पुगेपछि मात्र रोकिने दाबी गरिएको थियो। सोही प्रसङ्गलाई जोड्दै थापाले सरकारको निरंकुश/नियन्त्रणविहीन गति र प्रतिपक्षको उत्तिकै अव्यवस्थित दौडधुपलाई व्यंग्य गरेका हुन्।
बिपीको विचार पुनर्जीवित गर्ने संकल्प: कांग्रेस जननायक बिपी कोइरालाले देखाएको सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्दै दृढताका साथ अघि बढ्ने उहाँको भनाइ थियो।
जलवायु परिवर्तन प्राथमिकतामा: जलवायु परिवर्तनको मुद्दालाई नेपालको विकासको मूल एजेन्डा बनाउन कांग्रेसले विज्ञहरूसँग छलफल सुरु गरिसकेको र प्राप्त सुझावलाई नीति निर्माणमा समावेश गरिने जानकारी दिइयो।
‘मानव सहायता कल्याण कोष’ को घोषणा: बिपी स्मृति दिवसकै अवसरमा कांग्रेसले सुरुमा रु. १० लाख जम्मा गरी ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ।
ग्रीन रन प्रतियोगिता: जलवायु सचेतना फैलाउने उद्देश्यका साथ कांग्रेसले बुधबार बिहान ललितपुरको युएन पार्कमा ५ किलोमिटर लामो ‘ग्रीन रन’ प्रतियोगिता समेत आयोजना गरेको थियो।
प्रतिक्रिया