×

विश्वकप छनोट क्रिकेट प्रतियोगिता - वेष्ट ईण्डिजसँग नेपाल १०१ रनले पराजित

images

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । बिहीबार हरारे क्रिकेट मैदानमा भएको खेलमा नेपाल दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग पराजित  भएको हो ।

जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल आउट भयो ।

२८.१ ओभरमा १२९ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको स्कोर आरिफ शेख र गुल्सन झाले केही उकासेका थिए । उनीहरुले सातौं विकेटका लागि ६८ रनको साझेदारी गरे । गुल्सन ४२ रन बनाएर आउट भए । आरिफ ६३ रन बनाउँदै आउट भए ।

यसअघि टस हारेर ब्यटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको थियो । वेष्ट ईण्डिजका कप्तान साई होप र निकोलस पुरनले सतकीय पारी खेले । होप र पुरनले २१६ रनको साझेदारी गरे । कप्तान होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए । उनले १० चौका र ३ छक्का प्रहार गरे । उनी ललित नारायण राजवंशीको बलमा आउट भए ।

यस्तै पुरनले ९४ बलमा ११५ रन बनाए । उनले १० चौका र ४ छक्का प्रहार गर्दै दिपेन्द्र सिंह ऐरीको बलमा आउट भए । नेपालले सुरुआत राम्रो गरेको थियो । पहिलो पावर प्लेमा नेपालले वेस्ट इन्डिजको दुई विकेट लिदै ३० रन मात्र दिएको थियो । नेपालले दोस्रो ओभरको तेस्रो बलमा नै पहिलो विकेट लिएको थियो । नेपालका लागि करण केसीले ओपनर कायल मेयर्सलाई १ रनमा आउट गराएका थिए । पाँचौं ओभरको पहिलो बलमा गुलसन झाले जोनसन चार्ल्सलाई आउट गराएका थिए ।

तेस्रो विकेटका लागि ब्रेन्डन किंग र कप्तान शाई होपले ६८ बलमा ४६ रनको साझेदारी गरेका थिए । यस साझेदारीको सहयोगमा वेस्ट इन्डिज खेलमा फर्कने कोशिश गरेको थियो । 

तर, ब्रान्डन किंग सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो । किंगले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । यस्तै रोभमन पावेलले १४ बलमा २९ रन तथा जेसन होल्डरले १६ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १/१ विकेट लिए ।

बिहीबार ७ असार २०८० ०९:०० PM मा प्रकाशित

प्रतिक्रिया