काठमाडौँ- ‘अन्डर लाइट्स सिरिज’को दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गरेको छ। काठमाडौँको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ओपनर कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले सहज जित हात पारेको हो।
नेपालले दोस्रो खेल जितेसँगै दुई खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खला १-१ को बराबरीमा सकिएको छ। १२९ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा कुशलले अविजित रहँदै ८४ रन प्रहार गरे। उनले ५७ बलको सामना गरेर १२ चौका र २ छक्का प्रहार गरे। कुशल मल्ल १९ रनमा आउट हुँदा कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे।
त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। यूएईका लागि अक्षदिप नाथले सर्वाधिक ५३ रन, मोहम्मद अफ्रानले ३२, अदिप उस्मानीले ३० रन बनाए।
मंगलबार भएको पहिलो खेलमा यूएईले नेपाललाई पराजित गरेको थियो।
प्रतिक्रिया