×

त्रिविको नेविसंघ अध्यक्षमा ३ जनालाई मनोनीत गरेको पत्र सार्वजनिक

images

काठमाडौँ । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालय समिति अध्यक्षको जिम्मेवारी तीन जनालाई दिएको खुलेको छ ।

चैत ७ गतेको मिति राखेर नेविसंघ शेर्पाको हस्ताक्षरसहित तीन जनालाई त्रिवि समिति अध्यक्ष तोकिएको पत्र सार्वजनिक भएको हो । उक्त पत्रमा अध्यक्ष शेर्पाले विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई त्रिभुवन विश्वविद्यालय समिति अध्यक्षको जिम्मेवारी दिएको उल्लेख छ। 

चैत ७ गतेको मिति र अध्यक्ष शेर्पाद्वारा हस्ताक्षरित पत्रमा तीन महिनाभित्र विश्वविद्यालय समितिको अधिवेशन सम्पन्न गर्ने गरी उनीहरुलाई अध्यक्षको जिम्मेवारी तोकिएको उल्लेख छ।

बडैलालाई दिएको पत्रमा १०३०–०७८/८०, जोशीलाई दिएको पत्रमा १०३९–०७९/८०, भण्डारीलाई दिएको पत्रमा १०३८–०७९/८० चलानी नम्बर उल्लेख छ। तर केन्द्रीय अध्यक्ष शेर्पाले भने अध्यक्षमा मनोनित गरिएको भनिएका तीनैजना आधिकारिक नभएको बताएका छन् । केही दिनमा अध्यक्ष मनोनित गरिने उनले बताए ।  

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनमा विष्णु र दीपकले आधिकारिक उम्मेदवार श्यामराज ओझाविरुद्ध उम्मेदवारी दिएका थिए । तर पछि ओझालाई सघाउने गरी उनीहरुले बागी उम्मेदवारी फिर्ता लिएका थिए ।

ओझा स्ववियु सभापतिमा निर्वाचित भएलगत्तै विष्णु र दीपकसँगै गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिइएको पत्र सार्वजनिक भएको हो । नेविसंघभित्र गुटगत विवाद तीव्र छ । अध्यक्ष शेर्पाको कार्यशैलीमा प्रश्न उठाउँदै असन्तुष्ट पक्षले उनको राजीनामा समेत माग्दै आएको छ । 

बुधबार ८ चैत २०७९ ११:१० AM मा प्रकाशित

प्रतिक्रिया