काठमाडौं । नेपाली कांग्रेसमा शेरबहादुर देउवा र शेखर कोइराला समूह सक्रिय भएको छ । आज यो समूहले कार्यसम्पादन समिति बैठक राखेको छ । आजको भेलाले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको जनाईएको छ ।
पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराल, विजय गच्छदार, बालकृष्ण खाँणसहितका नेताहरु उपस्थित् रहेको बैठकले पार्टीको आधिकारिकताको विवाद अदालतमा विचाराधिन रहेको भन्दै अब १४औं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक बस्ने र अघि बढ्ने निर्णय भएको मीन विश्वकर्माले जानकारी दिए ।
उनकाअनुसार आजको बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिईएको छ । देउवा-कोइराला समूहको केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई भने बोलाइने छैन।
बैठकमा पार्टीको आगामी कार्यनीतिको बारेमा छलफल गरिने जनाइएको छ । देउवा समूहको निर्णयले कांग्रेसभित्रको विवाद थप उत्कर्षमा पुर्याएको छ । पुस २७ देखि ३० गतेसम्म देउवा समूह र डा. कोइराला समूहको असहमतिका बाबजुद विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसमा नयाँ समिति चयन भएको थियो । देउवा र कोइराला समूहले त्यसलाई नमान्ने भन्दै सर्वोच्च अदालतमा हालेको रिट विचाराधीन छ ।
निर्वाचन आयोगले भने थापाको नेतृत्वलाई पार्टीको आधिकारिकता दिइसकेको छ । थापाकै नेतृत्वमा चुनावमा गएको कांग्रेसले पराजय व्यहोरेको छ । शुक्रवारदेखि चुनावी समीक्षा गर्न थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बसिरहेका बेलामा अर्को समूहले त्यस्तो निर्णय गरेको हो ।
यसअघि खड्काको अध्यक्षतामा बसेको बैठकले थापा र शर्मालाई कारबाही गरेकोले उनीहरूलाई बैठकमा बोलाइने छैन। देउवा-कोइराला समूहले पार्टीको विशेष महाधिवेशनविरुद्ध अदालतमा दायर गरेको मुद्दा विचाराधीन रहेको छ।
आजको कार्यसम्पादन समिति बैठकमा नेताहरू खड्का, शेखर कोइराल, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार र बद्री पाण्डेलगायत सहभागी थिए।
प्रतिक्रिया