×

राधिकाको किताब २४ क्यारेटको सुनजस्तै हो,यसमा कुनै बनवटी कुराहरु छैनन - प्रधानमन्त्री केपी शर्मा ओली

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताएका छन् । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनवटी कुराहरु नभएको बताए ।

‘हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्‍यो भन्ने पर्ला तर म कुरा ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ । यसको सत्यताका कसैले चुनौती दिन सक्दैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन । त्यो सबै राधिकाको कमाइ र मेहनत हो । त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ । मेरो त सानो हुँदा आफूूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ । राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ ।’


प्रधानमन्त्री ओलीले आफ्नो एक मानोको बन्दोबस्त मात्रै भएको, देश र जनताको अधिकारका लागि ज्यानको पर्वाह नगरी हिँडेको आफू जस्तो मान्छेका बारेमा आर्थिक विषयमा अनेक अफबाह फैलाइएको टिप्पणी गर्दै मुलुकमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिलाई आफूले सफलता मानेको बताए ।

‘जेलबाट चप्पल लगाएर निस्किएको एउटा कैदी प्रधानमन्त्री भयो भनेर होच्याउनेहरु पनि छन् । सायद तिनीहरु श्रीपेच लगाएका मान्छेले आफूूलाई रैती बनाएको देख्न चाहन्छन् । जनताको छोरो प्रधानमन्त्री भएको देख्न चाहँदैनन् ।’ नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘मलाई धेरैले माया र साथ दिन्छन् । मैले लोभ गर्ने हो भने साथीहरुले घर सम्पति जोड्न सहयोग गर्छन् तर मलाई कुनै लोभ छैन । मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पति हो ।

लेखक तथा प्रथम महिला शाक्यले पनि प्रधानमन्त्री ओली जस्तो देशका लागि रातभर समेत सक्रिय खट्ने मान्छेका बारेमा अनेक अफबाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने बताउँदै होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले होच्याउन नहुने धारणा राखिन्।

आफूूले नेपाल राष्ट्र बैंकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको स्मरण गराउँदै उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरुसँग दुःखेसो पोखिन् । ‘हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायहरुलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक एक हिसाब बुुझाउन म तयार छु । बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो ।’ प्रथम महिला शाक्यले भनिन्, ‘सम्पूर्ण नेपालीले सहजरुपमा लाउन र खान पाउनु पर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।


कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै वक्ताहरुले प्रधानमन्त्री र प्रथम महिलाका जीवनका आरोह अवरोहमा आधारित पुस्तकले जस्तो सुकै दुःख र कष्टमा पनि आशाको दियो बाल्न सकिन्छ भन्ने सन्देश दिने बताएका छन् । नेकपा (एमाले) का उपमहासचिव एवं साहित्यकार प्रदीपकुमार ज्ञवालीले प्रतिकूलतामा पनि बाँच्नका लागि पुस्तकले प्रेरणा दिने धारणा राखे ।

गायिका आनी छोइङ डोल्माले राधिका शाक्यको लेखन र व्यवहार दुवै करुणामय पाइएको अनुभव व्यक्त गरिन्। लेखक अमर न्यौपानेले पुस्तकबाट प्रधानमन्त्री ओलीको आत्मविश्वास र ढृढ इच्छाशक्ति तथा त्यो प्राप्तिमा राधिका शाक्यको योगदानलाई बुझ्न सकिने बताए । कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यको ३७ औं विवाह उत्सवमा अवसरमा आयोजकबाट उनीहरुलाई सम्मान गरिएको थियो ।

शनिबार १० फागुन २०८१ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया