काठमाडौं । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री र नेपाली कम्युनिस्ट पार्टीकी नेतृ रन्जिता श्रेष्ठलाई धरौटीमा रिहा गर्ने आदेश भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो ।
श्रेष्ठमाथि आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्ने क्रममा २५ लाख रुपियाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । मुद्दाको सुनुवाइका लागि श्रेष्ठ आज विशेष अदालतमा उपस्थित थिइन् ।
आयोगले श्रेष्ठसँग ७८ लाख रूपैयाँ विगो कायम गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । पोखरा महानगरपालिका–१६ मा रहेको दीप विर्ता (लिची बगैँचा) मा रहेको भनिएको नक्सा नम्बर २५, २६ र २८ को जग्गाको सम्बधमा भ्रष्टाचार प्रकरणमा श्रेष्ठ जोडिएका हुन् ।
पोखराको बाटुलेचौरमा रहेको लिची बगान क्षेत्रको १३४ रोपनी जग्गा हडप्न पूर्वमन्त्री गुप्ता, नाउपा अध्यक्ष तथा पूर्वमन्त्री श्रेष्ठ र बिचौलिया सुजन लामाबिचको घुस डिल अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए ।
प्रतिक्रिया