×

सधैँ अराजकता कहाँ टिक्छ र ? एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ-केपी शर्मा ओली

images

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने बताएका छन् । आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने पनि उनले बताएका छन् ।

बिहीबार झापाको दमक नगरपालिका-८ स्थित नेपाली कम्युनिष्ट पार्टी (पूर्वमाओवादी केन्द्र) का नेता गगन पुरीको घर अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् ।

गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा आगजनी गरिएको घरको अवलोकनका क्रममा उनले यस प्रकारको विध्वंश मच्चाउनेहरू कानुनी दायरामा आउने विश्वास दिलाए ।

जेन-जीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मतपछि बस्दै आएका पुरीलाई ओलीले आश्वस्त पार्न खोजे ।

‘सधैँ अराजकता कहाँ टिक्छ र ? एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ, बरू उजरी–निवेदन लगायत प्रक्रिया चाहिँ अघि बढाउनु होला’, उनले भने । 

नेता पुरीले आफूले सबै प्रमाण संकलन गरिसकेको बताउँदै कानुनी उपचारको प्रक्रिया पनि अघि बढाएको उल्लेख गरेका छन् । 

आगजनी र तोडफोडका क्रममा क्रममा सबै सम्पत्ति लुटिएको, घरायसी सामान जलाइएको र घर पनि तोडफोड गरिएको पुरीले बताए । 

क्षतिग्रस्त घर अवलोकन गर्न पुगेका पूर्वप्रधानमन्त्री ओलीलाई पुरीले फूलले स्वागत गरे । नेता पुरीको घर अवलोकनपछि एमाले अध्यक्ष ओली दमकस्थित तत्कालीन माओवादीको पार्टी अवलोकन गर्दै गौरादहतर्फ लागेका छन्।

बिहीबार ९ माघ २०८२ ०१:४८ PM मा प्रकाशित

प्रतिक्रिया