काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको एकता जोगाउनको लागि आफूले मध्यमार्गी बाटो रोजेको बताएका छन् । आज (बिहीबार) मोरङ ६ स्थित सुन्दरहरैंचामा कांग्रेसका समर्थकहरुसँग कुराकानी गर्दै उनले आफू विशेष महाधिवेशनमा नगएर पार्टी विभाजन रोक्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
त्यो बेलामा एउटा ग्रुप विशेष महाधिवेशन र अर्को नियमित महाधिवेशन भनेर हिँडे पनि आफूले मध्यमार्गी बाटो रोजेको बताउँदै उनले भने, ‘त्यसैले पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ ।’ आफू विशेष महाधिवेशनको हलमा गएको भए पार्टी सभापति बन्ने अवसर पनि पाउने अवस्था रहेकोमा पार्टी दुई टुक्रा हुने निश्चित देखेपछि त्यहाँ नगएको उनले बताए । साथै, उनले आफू विशेष महाधिवेशन जाँदा पार्टी विभाजन हुनसक्ने भन्दै मध्यमार्गी बाटो लिएको जिकिर गरे ।
‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो । पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो,’ उनले भने, ‘यो पार्टीको एउटा प्रक्रिया हो । आज डिला (डा. डिला संग्रौला) जी र म एकै स्थानमा छौं, निर्वाचन दौडमा सँगै हिडिराछौं । त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं ।”
प्रतिक्रिया