×

सिरहा–धनुषा जोड्ने कमला नदीको निर्माणाधीन समस्या ग्रस्त पुलको मन्त्री घिसिङले गरे स्थलगत निरिक्षण

images

सिरहा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् ।

मन्त्री घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायत सम्मिलित टोलीले शुक्रबार कमला पुलको अनुगमन गरेको छ ।

ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत पुल निर्माण हुन नसकेको, पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न वाध्यभएको जस्ता गुनासो आएपछि मन्त्री घिसिङले समस्या समाधानका लागि पुलको निर्माणको अनुगमन गरेका हुन् ।

तराई-मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता  सम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१को मंसिरमा सम्पन्न हुनुपर्ने थियो । तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि आठौं पठक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेश भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ ।

पुल निर्माणमा भईरहेको ढिलाइका सम्बन्धमा मन्त्री घिसिङले “यो पुल समग्र मधेश क्षेत्रको विकासको लागि अत्यन्तै महत्वपूर्ण रहेकोले तिब्र गतिमा निर्माण कार्य अगाडी बढाईने प्रतिबद्धता जनाए । उनले यो पुल बन्छ, हामी बनाउँछौ भन्दै विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानविन गरिरहेकोमा दोषी देखिएकालाई कानुन बमोजिम कार्वाही गरिने समेत बताए ।

अनुगमनकै क्रममा मन्त्री घिसिङ वारी धनुषावाट डुङ्गा चढेर पारी सिरहा पुगेका थिए । जहाँ युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग भेट गरी संयुक्त रुपमा पुल निर्माणको निरिक्षण गरेका थिए ।

हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ । पुल निर्माणको भौतिक प्रगति र वित्तीय प्रगति क्रमश ः  ८३ र ८२ प्रतिशत रहेको छ । १२ वटा स्पान भएको पुलको लम्बाइ ४६९ मिटर रहेको छ । निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी  निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ १३०० मिटर नदी नियन्त्रण र २०० मि. पहुँच सडक निर्माण गर्नु पर्ने छ ।

१७ असार २०७८मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो । क्षति पुगेका स्लावमध्ये २ वटा हटाइएको छ भने २ वटा हटाउन बाँकी रहेका छन् । विज्ञबाट उक्त क्षेत्रको माटो परीक्षण गरी परिमार्जित डिजाइन तथा डओइ तयार गरी स्वीकृत गरिएको छ । ४ वटा स्लावमध्ये सिरहापटिको २ वटा हटाउने तथा एउटाको पायरको पायल क्याप र अर्कोको पायरको २ मिटर स्टिम ढलान भई बाँकी २ वटा स्पानलाई दह्रो बनाउने काम बाँकी रहेको छ । स्वीकृत परिमार्जित डिजाइन बमोजिम पुल निर्माण तथा पुनस्र्थापना आगामी असारभित्र सम्पन्न गरी यातायाता सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

शुक्रबार​ ६ मंसिर २०८२ ०७:१७ PM मा प्रकाशित

प्रतिक्रिया