काठमाडौ । इरानको फुटबल टोलीका कप्तान एहसान हजसाफीले देशभित्र भइरहेको विरोध प्रदर्शनबारे आफ्नो धारणा राखेका छन् । इरानमा विगत केही महिनादेखि सरकारविरुद्ध हिंसात्मक प्रदर्शन भइरहेको छ ।
फिफा विश्वकपमा आज इरान र इङ्गल्याण्डबीच खेल हुँदैछ । खेलअघि कप्तान एहसान हजसाफीले भने, ‘हाम्रो देशको अवस्था राम्रो छैन र हाम्रा जनता खुसी छैनन् भन्ने हामीले स्वीकार गर्नुपर्छ ।’
उनले आन्दोलनमा ज्यान गुमाएकालाई आफूले समर्थन गरेको बताए । इरानमा भएको प्रदर्शनमा हालसम्म ४ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको मानवअधिकारकर्मीले दाबी गरेका छन् । सुरक्षा बलले हालसम्म १६ हजार ८ सय जनालाई पक्राउ गरेको छ ।
इरानका नेताहरूले प्रदर्शनलाई दंगा भनेका छन् र त्यसका लागि विदेशी शक्तिहरूलाई दोष दिइरहेका छन् ।
इरानका शीर्ष खेलाडीले प्रदर्शनकारीको पक्षमा बयान दिएको यो पहिलो पटक हो ।
उनले पत्रकार सम्मेलनको सुरुमा भने, ‘केही भन्नु अघि, म इरानमा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दछु । म उनीहरूका परिवारलाई हामी उनीहरूसँगै छौँ भनेर भन्न चाहन्छु । म उनीहरूलाई समर्थन गर्छु र उनीहरूप्रति सहानुभूति राख्छु ।’
प्रतिक्रिया