×

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा आधा दर्जन मन्त्री भ्रष्टाचारको आरोप लागेकाहरु छन - प्रचण्ड

images

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार केही समयभित्रै ढल्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा आधा दर्जन मन्त्री भ्रष्टाचारको आरोप लागेकाहरु रहेको टिप्पणी गरे ।

अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आज शनिबार आयोजित  प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको सरकार नै भ्रष्टाचारीलाई जोगाउनको लागि बनेको आरोप लगाए । तर, अहिले सरकार सबै मोर्चामा असफल भएको उनको दाबी छ । उनले सत्ताको नेतृत्व गरेपनि कांग्रेस र एमाले असफल भएको दाबी गरे । आफूहरु सरकारबाट बाहिरिँदै गर्दापनि विजयको भावमा बाहिरिएको दाहालको भनाई छ ।

उनले आफूले सरकारबाट बाहिरिएपछि पहिलोपटक प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सम्बोधन गर्दा कांग्रेस र एमालेको षड्यन्त्रको भण्डाफोर गरेर जनताको शक्ति लिएर फर्किन्छु भनेर भनेको पनि स्मरण गराए । उनले भने,‘म जनताको तागत लिएर आउँछु भनेर कांग्रेस र एमालेलाई धावा बोलेर आएको छु । हामी गर्जिएर निस्किएका छौं । खबरदार गर्दै निस्किएका छौं । जो सरकारमा गएका छन्, उनीहरु थरथर काम्दै गएका छन् । यस्तो नयाँ खालको र विचित्रको परिस्थिति अहिले नेपालमा बनेको छ । सरकार बनेपछि जे जति उनीहरुले प्रयास गरे सबै भ्रष्टाचारीहरुलाई बचाउने प्रयास गरे । आधा दर्जनभन्दा ब ढीलाई त भ्रष्टाचारको केश लागेकाहरुलाई नै मन्त्री बनाएका छन् । जसको काँधमा भ्रष्टाचारको मुद्दा छन् ।’

उनले उपसभामुख इन्दिरा रानाजस्तो अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त महिलालाई हटाउन खोजेपनि त्यो प्रपञ्च सफल नभएको सुनाए । उनले भने,‘उनीहरु सबैमा असफल भए । उनीहरुले एउटा पनि काम फत्ते गर्न सकेका छैनन् । हामी प्रतिपक्षमा भएपनि एकपछि अर्को सफलता हात पार्दै गएका छौं । एकपछि अर्को असफलता उनीहरुको हात लागेको छ । मलाई लाग्छ केही समयभित्र यो गठबन्धन आफैं कुहिएर झर्नेछ ।’

अहिले संविधानमार्फत जनताले पाएको अधिकार दलाल पुँजीपति, नोकरशाह र माफियाहरूलाई नपचेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले अहिले कथित संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खोजिएको बताए । ‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अङ्गको रूपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमतिविना गर्न खोजिने संविधान संशोधनको प्रयास बेइमानी र जालझेल बाहेक अरू हुन सक्दैन’– उनले भने– ‘हाम्रो सहमतिविना संविधान संशोधन गर्ने उनीहरूलाई राजनीतिक र नैतिक दुवै अधिकार छैन ।’  

तर, इमान्दरिताका साथ संविधान संशोधनको एजेन्डा उठाउन खोजे आफूहरू त्यसका लागि तयार हुने पनि उनले स्पष्ट पारे । ‘अग्रगमनमा जानका लागि हो भने अहिले संविधान संशोधनको सबैभन्दा बढी आवश्यकता माओवादी केन्द्रलाई छ’– अध्यक्ष प्रचण्डले भने– ‘हामीले संविधान निर्माण गर्दा प्रष्टरुपमा हाम्रो एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हो तर यसमा कांग्रेस र एमाले सहमत नभएकाले हामी कुनै पनि दिन यो मुद्दा लिएर आन्दोलनमा जाने छौँ भनेर नोट डिसेन्ट लेखेका छौँ । अब हामी यो एजेन्डालाई लिएर अगाडि बढ्छौँ ।’

प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली पनि आवश्यक रहेको उनले बताए । ‘अहिले जसरी राजनीतिक भ्रष्टाचार बढिरहेको छ, यो निर्वाचन प्रणालीका कारणले हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘एउटा पालिकामा चुनाव जित्न करोड, प्रदेशमा दश करोड र सङ्घमा पचास करोड खर्च गर्नुपर्ने अवस्थाले जितेर आउने प्रतिनिधि जनताको काम होइन, भ्रष्टाचार गरेर चुनाव खर्च उठाउने काममा बढी लाग्न थालेको देखियो । त्यसैले हाम्रो भनाई के छ भने भ्रष्टाचारको मुहान नै सुकाउने हो भने निर्वाचन प्रणाली बदलेर त्यसलाई पूर्ण समानुपातिक बनाउनुपर्छ ।’ 

शनिबार ५ असोज २०८१ ०७:५७ PM मा प्रकाशित

प्रतिक्रिया