×

 सडक निर्माण सुस्त

images


नवलपुरलाई प्रदेश राजधानी पोखरासँग जोड्ने सडक निर्माणले गति लिन सकेको छैन । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोतीस्थित फलफूल चोक–बोझापोखरी–हुँदै कोखेटारसम्म निर्माण गर्ने भनिएको सडक निर्माणका लागि तेस्रो पटक म्याद थप गरिएको छ । 

विसं २०७४ जेठ ३१ गते ठेक्का सम्झौता भएको कावासोती–कोखेटार सडक निर्माणको काम विसं २०७७ जेठ मसान्तसम्ममा सक्नुपर्ने थियो । तर त्यसयता तेस्रो पटक म्याद थप गरिएको छ । पछिल्लो पटक आउँदो चैत मसान्तसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर राजेन्द्र महर्जनले बताउनुभयो । 

थपिएको समयमा समेत सडक निर्माण कार्यले पूर्णता पाउनेमा आशङ्का पैदा भएको छ । पहिलो खण्डमा कावासोतीको फलफूल चोकदेखि १४ किलोमिटर कालोपत्र र त्यसपछिको छ किलोमिटर ग्राभेल यस्तै दोस्रो खण्डमा २० किलोमिटर ग्राभेल गर्ने गरी ठेक्का सम्झौता भएर काम अगाडि बढेको थियो । 

दुवै खण्डगरी कूल रु ८४ करोड ९८ लाख आठ हजार दुई सय ४१ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको हो । पहिलो खण्डमा सन्तोषी–रौताहा–हरिहरि जेभी र दोस्रो खण्डमा पप्पुकोसी–न्यौपाने–बन्धना भगवती जेभीले निर्माणको जिम्मा पाएका थिए । तर अहिले पहिलो खण्डमा करिब छ किमीमा कालोपत्रका लागि ‘सिङ्गल कोट’ ९कालोपत्रको प्रारम्भिक तह० को काम सकिएको छ । 

दोस्रो खण्डमा करिब पाँच किमीमा ग्राभेल गर्ने काम सकिएको इञ्जिनीयर महर्जनले जानकारी दिनुभयो । त्यसबाहेक केही क्षेत्रमा नाला निर्माण र पहाडी क्षेत्रमा बाटो फराकिलो बनाउन भित्ता काट्ने काम मात्रै भएको छ । 

सुरुको केही समय सडक निर्माणको काम कसले गर्ने भन्नेमा अन्योल रहँदा निर्माण कार्य प्रभावित बन्यो । प्रारम्भिक चरणमा सडक डिभिजन कार्यालय बुटवल मातहतमा निर्माणको काम अघि बढेकामा पछि गण्डकी प्रदेश मातहतमा काम अघि बढ्यो । अहिले फेरि यस सडक निर्माणको काम सडक डिभिजन कार्यालय भरतपुर मातहतबाट हुँदै आएको छ । 

केही समय कोभिड र पछि बजेट निकासा नहुँदा निर्माण कार्य प्रभावित बनेको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर महर्जनले बताउनुभयो । “केही समय कोभिडले प्रभाव प¥र्यो, बजेटको पनि नियमित निकासा हुन सकेन, यसले पनि निर्माणको काम प्रभावित बन्यो”, उहाँले भन्नुभयो ।

अहिले पनि यस सडकका लागि रु चार करोडमात्रै बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । “११÷१२ करोडको काम बाँकी छ, अहिले पनि रु चार करोड मात्रै विनियोजन गरिएको छ”,  उहाँले भन्नुभयो, “अब विनियोजित बजेटले त पुग्दैन तर सकिएपछि थप रकम माग्छौँ, यो वर्ष सकभर काम सक्नेगरी लाग्छौँ ।”  
    
अहिले कावासोती–बोझापोखरी र बोझा–कोखेटारसम्मको दुवै प्याकेजमा करिब ७५ प्रतिशत भौतिक प्रगति भएको इञ्जिनीयर महर्जनले बताउनुभयो । नवलपुरको पहाडी क्षेत्र छिचोल्दै कोखेटारमा पुगी कालिगण्डकी करिडोरमा यो सडकले छुनेछ । त्यसपछि करिडोर हँदै डेढगाउँ–भिमाद–खैरेनिटार–पोखरा जोड्ने महत्वपूर्ण सडक निर्माणमा ढिलासुस्ती हुँदा यस क्षेत्रका बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । 

पहाडी क्षेत्रको ‘लाइफ लाइन’का रुपमा समेत हेरिएको यो सडक छिटो निर्माण हुनुपर्ने माग यस क्षेत्रका बासिन्दाको रहेको छ । यो सडक निर्माणले नवलपुरलाई आफ्नै प्रदेशको बाटो हुँदै प्रदेश राजधानीलाई जोड्नेछ  । अहिले प्रदेश राजधानी पोखरा पुग्न बाग्मती प्रदेशको चितवन हुँदै वा लुम्बिनी प्रदेशको रुपन्देही–पाल्पा–स्याङ्जा हुँदै पोखरा जानुपर्ने बाध्यता रहेको छ । 

जिल्लालाई प्रदेश राजधानीसँग जोड्ने महत्वपूर्ण सडकका रुपमा हेरिएको यो योजना निर्माणको काम जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने कावासोती नगरपालिका–६, का वडाध्यक्ष यमबहादुर थापाले बताउनुभयो । अहिले बाटो निर्माणको काम अलपत्र पर्दा फलफूल चोक–हात्तीखोर खण्डमा धुलो उडेर स्थानीयले सास्ती खेप्नुपरेकोसमेत उहाँले गुनासो गर्नुभयो ।  

बुधबार ५ असोज २०७९ ०१:४९ PM मा प्रकाशित

प्रतिक्रिया