काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत (लेखापाल) सञ्जीव पाण्डेमाथि खेलमा मिलेमतो (म्याच फिक्सिङ), वित्तीय अनियमितता तथा ठगीको गम्भीर आरोपमा अनुसन्धान अघि बढेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एन्फा मुख्यालय सातदोबाटोमा छापा मारेर नियन्त्रणमा लिएका दुवै पदाधिकारीमाथि खेलमा मिलेमतो तथा आर्थिक ठगी सम्बन्धी कसुरमा सूक्ष्म अनुसन्धान सुरु गरिएको जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाका उच्च पदाधिकारीको जाहेरी/सिफारिसका आधारमा सीआईबीले छानबिन तीव्र पारेको हो। सीआईबीको टोलीले एन्फा कार्यालयबाट महत्वपूर्ण कागजात, कम्प्युटर तथा मोबाइल फोनहरू समेत नियन्त्रणमा लिई प्राविधिक विश्लेषण थालेको छ।
पक्राउ परेका जोशी र पाण्डेलाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएकोमा अदालतले हिरासतमा राखेर अनुसन्धान जारी राख्न ४ दिनको म्याद थप अनुमति दिएको छ। खेल क्षेत्रमा लगातार हुने यस्ता आर्थिक तथा गैरकानुनी गतिविधिले नेपाली फुटबलको साख र निष्पक्षतामाथि पुन: गम्भीर प्रश्न खडा गरेको छ।
प्रतिक्रिया