×

झण्डै ८०० नेपाली विद्यार्थी हवाई वा स्थलमार्ग हुँदै नेपाल आउन बंगलादेश छाडे

images

काठमाडौं । बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका आठ सय विद्यार्थी नेपाल फर्केका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म झण्डै ८०० नेपाली विद्यार्थी हवाई वा स्थलमार्ग हुँदै नेपाल आउन बंगलादेश छाडेका छन् ।


बंगलादेशका विभिन्न स्थानबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राका लागि समन्वय गरिएको छ । बंगलादेशमा कोटा प्रणालीको विरोधमा हिंसा भड्किएपछि तनाव सिर्जना भएको छ ।  नेपालले त्यहाँ अध्ययन गर्दै आएका नेपाली विद्यार्थीलाई ल्याउने प्रयास यसअघि नै सुरु गरेको छ । साथै परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरूका सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ ।


जारी गरिएको सूचनामा भनिएको छ, ‘‘बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ । निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नुहुनेछ ।’’


१७ नेपाली विद्यार्थीलाई आज स्वदेश फर्काउन प्रबन्ध
प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएको छ । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताएको हो ।

प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनिएको छ, “बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् ।
 

ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एअरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।”

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेको छ ।

बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

आइतबार​ ६ साउन २०८१ १०:३४ AM मा प्रकाशित

प्रतिक्रिया