×

शिक्षामन्त्री भट्टराईले दिईन् राजीनामा, लगत्तै छाडिन् मन्त्री क्वार्टर

images

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाएको उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए।

‘शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो’, उनले भने, ‘के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन।’ शिक्षा ऐन तत्काल जारी हुनुपर्ने मागसहित शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा होमिएको २०औं दिनमा उनले राजीनामा बुझाएकी हुन् ।

विद्यालय शिक्षा विधेयकको विषयमा प्रधानमन्त्री ओली र मन्त्री भट्टराईबीच लामो समयदेखि मतभेद रहँदै आएको गाइँगुईँ चलिरहेको थियो । उक्त गाइँगुइँका बीच शिक्षा मन्त्री भट्टराईले राजीनामा बुझाएकी छन् ।

आन्दोलनरत शिक्षकहरुलाई मन्त्रालयले यसअघि दुई पटक वार्तामा बस्न आह्वान गरेको थियो । मन्त्रालयको आह्वानलाई बेवास्ता गरी शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले २० दिनदेखि लगातार काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । जसको कारण सर्वसाधरण जनताको दैनिकी अस्तव्यस्त बनिरहेको छ भने एसईईको उत्तरपुस्तिका परीक्षण कार्य अलपत्र बनेको छ ।

त्यस्तै, आगामी वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षासमेत अन्यौलतामा धकेलिएको छ । यी साह्रा अनिश्चितता र अन्यौलताका बीच मन्त्री भट्टराईले पदबाट राजीनामा दिएकी हुन् । उनी गत ३१ असारमा शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन्  ।

कास्की क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष निर्वाचित भएर उनी संघीय सांसद बनेकी थिइन् । शिक्षामन्त्री बन्नुअघि उनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यको रूपमा सक्रिय थिइन् ।

उनका श्रीमान (तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री) रवीन्द्र अधिकारीको ताप्लेजुङ पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि भट्टराईले उपप्राध्यापकबाट राजीनामा दिएकी थिइन् । त्यसपछि उनी राजनीतिमा सक्रिय भएकी हुन् ।

२०७६ मा भएको उपनिर्वाचनमा भट्टराई कास्कीबाट निर्वाचित भएर पहिलो पटक संसद् छिरेकी थिइन् । राजीनामा बुझाएकी भट्टराईले लगत्तै भैंसेपाटीस्थित मन्त्री क्वार्टर छाडेर निजी निवासमा गएकी हुन् ।  

सोमबार ८ बैशाख २०८२ ०९:५१ PM मा प्रकाशित

प्रतिक्रिया