×

गभर्नरको निलम्बन प्रकृयामा प्रधानमन्त्री र अर्थमन्त्रीबीच सल्लाह भएको प्रचण्डको दाबी

images

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर निलम्बन प्रकृयामा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको दाबी गर्नुभएको छ ।

आज कैलालीको धनगढीमा भएको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्माबीचमा सल्लाह भएको बताउनुभएको हो ।

‘सुरुबाटै गभर्नर अधिकारी र सरकारका बीचमा समस्या देखिएको हो’ प्रचण्डले भन्नुभयो, ‘प्रधानमन्त्री र अर्थमन्त्रीले सल्लाह गरेर नै त्यस्तो निर्णय गरेको प्रष्ट भइसकेको छ । थप १३ गते अदालतमा दुवैका कुरा आउँछन् । त्यसपछि मात्रै के भएको हो भन्न सकिन्छ ।’ 

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार निलम्बनमा परेका गभर्नर अधिकारी सर्वोच्च अदालतको आदेशपछि हिजोदेखि काममा फर्कनु भएको छ । गभर्नर अधिकारी काममा फर्किएपछि अर्थमन्त्रीले नैतिक रुपमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्रीको बचाउ गर्दै प्रधानमन्त्रीको सल्लाहमा निर्णय भएको बताउनुभएको हो ।

यस्तै, चुनावी प्रसङ्गमा अध्यक्ष प्रचण्डले बाहिर हल्ला गरिएजस्तो चुनाव नसर्ने बताउनुभयो । लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउनु अहिलेको आवश्यकता रहेको प्रचण्डको भनाई छ ।

बिहीबार ८ बैशाख २०७९ १२:३९ PM मा प्रकाशित

प्रतिक्रिया