×

विकास आइडिया, दृष्टिकोण र सोचले गर्छ-केपी शर्मा ओली

images

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही भएको छैन भन्ने भाष्य गलत भएको बताएका छन् । शनिवार झापाको दमकमा आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै उनले देशमा केही हुँदै गएको र अझै धेरै गर्न बाँकि रहेको समेत स्पष्ट पारे ।

देशमा केही भएको र अझै धेरै गर्न बाँकि रहेको उनको भनाई थियो । अध्यक्ष ओलीले विकास, निर्माणका कामहरु गर्दै जाने विषय भएको पनि बताए ।

उनले भने ,‘देशमा केही भएको छैन भन्ने होइन, भएको छ । तर अझै हुन बाँकि छ । त्यो गर्दै जानुपर्छ । दमकमा पिच सडक हेर्न राजमार्ग जानुपर्दथ्यो । अहिले बेडबाटै हेर्न सक्नु हुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानीमा पनि सुधार आएको छ । अझै गर्दै जानुपर्नेछ ।’ अध्यक्ष ओलीले आफ्नो निर्वाचन झापा क्षेत्र नम्बर ५ मा पनि पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम भएको बताए । 

‘पैसाले धनी बनाउने होइन, पैसाले विकास गर्ने होइन,’ ओलीले भने, ‘विकास आइडिया, दृष्टिकोण र सोचले गर्छ । विकास भएपछि पैसा कमाइन्छ ।’ अर्बौँ जनसंख्या भए पनि गरिब रहेको चीनले गरिबी हटाएको ओलीले दाबी गरे । ‘डेढ अर्ब जनसंख्यालाई गरिबीबाट हटाएको छ । अहिले गर्वसँग गरिबी निवारण गरेको भन्छ । चीनसँग पैसा भएर गरिबी हटाएको हो र ?,’ उनले भने ।

त्यस कारण आफूले म बनाउँछु मेरो देश भन्ने नारा दिएको उनले बताए । उनले भने, ‘अब सिंगो देशले भन्नुपर्छ म बनाउँछु मेरो देश । अब यो मेरो मात्र नारा होइन ।’ देश नेपालीकै संकल्पले बन्ने उनले बताए । ‘यो देश हाम्रो संकल्पले बन्ने हो, पैसाले हुन्न । गर्छु, म सक्छु भनेर हिम्मत गरेपछि सकिन्छ,’ उनले भने । दुई वर्षभित्र मेचीदेखि महाकालीसम्म मदन भण्डारी राजमार्ग बनाउन सकिएको उनले दाबी गरे ।

‘केही वर्षभित्र नेपाललाई सडकमय बनाउन सकिँदो रहेछ । खेतहरूमा सिँचाइ पुर्‍याउन सकिँदो रहेछ । हामीले पुर्‍याएका छौँ,’ ओलीले भने । गफ गरेर पनि देश नबन्ने उनले बताए । उनले अगाडि भने, ‘देश बनाउन कङ्क्रिट योजना चाहिन्छ ।’

शनिबार ९ फागुन २०८२ ०८:०५ PM मा प्रकाशित

प्रतिक्रिया