काठमाडौँ। आगामी असोज ८ गतेदेखि नेपालका विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने मौसमविद् तथा जल तथा मौसम विज्ञान विभागले आकलन गरेका छन्। बंगालको खाडीमा बन्न सक्ने न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मनसुनी गतिविधि पुनः सक्रिय भई भारी वर्षाको सम्भावना देखिएको हो।
मौसम पूर्वानुमान मोडलहरूको विश्लेषणअनुसार असोज ८ देखि १२ गतेसम्म देशका धेरैजसो स्थानमा मध्यमदेखि भारी र केही स्थानमा अति भारी वर्षा हुनसक्ने उच्च सम्भावना छ। विशेष गरी कोशी, बागमती, मधेस र सुदूरपश्चिमका केही भूभागमा वर्षाको प्रभाव बढी पर्न सक्ने अनुमान गरिएको छ।
भारी वर्षाका कारण पहिरो, नदीहरूमा जलसतह बढ्ने, सडक यातायात प्रभावित हुने तथा होचा भूभाग डुबानमा पर्न सक्ने जोखिम रहेकाले विभाग र स्थानीय प्रशासनले सर्वसाधारण तथा यात्रुहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया