काठमाडौँ, ४ भदौ (२०८३) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' की पुत्री एवं पूर्वस्वकीय सचिव गङ्गा दाहालले आफ्नो परिवारमाथि लगाइएको ५० करोड रुपैयाँको आर्थिक आरोपको कडा शब्दमा खण्डन गर्दै सो दाबी पुष्टि गर्न सार्वजनिक चुनौती दिएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै उनले राजनीतिक प्रतिशोधका आधारमा आफ्नो परिवारविरुद्ध नियोजित रूपमा 'हावादारी भ्रम' र अफवाह फैलाइएको आरोप लगाएकी हुन्।
दाहालले आफू र आफ्नो परिवार संविधान तथा कानुनबमोजिम राज्यका जुनसुकै निकायले गर्ने कानुनी छानबिनका लागि सदैव तयार रहेको स्पष्ट पारेकी छिन्। वक्तव्यमा गङ्गा दाहालले विगतमा पनि आफ्नो परिवारलाई बद्नाम गराउन ठूलाठूला भ्रमहरू सिर्जना गरिएको उल्लेख गरेकी छिन्:
यसअघि 'दुबईमा ४० अर्ब रुपैयाँ रहेको' र 'भाटभटेनीलगायत ठूला व्यावसायिक घरानासँग वित्तीय साँठगाँठ रहेको' भनी लगाइएका आरोपहरू पुष्टि हुन नसकेको उनले दाबी गरिन्। पुराना प्रचार असफल भएपछि अहिले बजारमा ५० करोडको नयाँ हावादारी कथा बुनिएको उनको तर्क छ।
उनले प्रश्न गरेकी छिन्, “राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला ! म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन् ?” अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको चर्चा चलिरहेका बेला दाहालको यस्तो स्पष्टीकरण आएको हो। उनले आर्थिक पारदर्शिताका सवालमा आफ्नो बचाउ गर्दै थपिन्
आफूहरूले कानुनबमोजिम आफ्नो सम्पत्तिको पूर्ण विवरण केही समयअघि नै सरकारसमक्ष बुझाइसकेको उनले जानकारी दिइन्। सरकार वा राज्यका वैधानिक निकायले गर्ने जुनसुकै अनुसन्धानमा आफ्नो पूर्ण सहयोग रहने र यदि कतै पदको दुरुपयोग वा आर्थिक अनियमितता गरेको पुष्टि भए कानुनी कारबाही भोग्न तयार रहेको उनले घोषणा गरिन्। तर, बिनाकारण र बिना गल्तीको मिथ्या आरोप भने कुनै पनि हालतमा स्वीकार्य नहुने उनको चेतावनी छ।
आफ्नो बाल्यकाल जनयुद्ध र असामान्य संघर्षपूर्ण परिस्थितिमा बितेको स्मरण गर्दै दाहालले भोलिको बिहानीको आशा समेत नमारेर क्रान्तिबाट आएको परिवारले आर्थिक प्रलोभनमा परेर जनतालाई धोका दिन नसक्ने दाबी गरिन्। उनले लेखेकी छिन्, “हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ। हामीलाई के गर्न हुन्छ, के गर्न हुँदैन, राम्रोसँग थाहा छ। हामी मृत्युवरण गर्छौँ तर जनतालाई धोका दिन सक्दैनौँ, यही नै हाम्रो स्कुलिङ हो।”
साथै, आफ्नो व्यक्तिगत जीवनलाई थाती राखेर छोरीको नाताले बुबालाई राजनीतिक र प्रशासनिक काममा सहयोग गर्नु अपराध नभएको तर्क गर्दै उनले यस्ता नियोजित अफवाहहरू कुन उद्देश्यले फैलाइँदै छन् भन्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएकी छिन्।
प्रतिक्रिया